खोटाङ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर दशैं तिहार मनाउन आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आईतबार बसेको १९ औं बैठकले दिनानुदिन कोरोना भाइरसको संक्रमण दर बढिरहेको अवस्थामा एकठाउँमा भेला हुँदा संक्रमण फैलिने त्रास बढेकाले सामुहिकरुपमा भिडभाड नगरी आ–आफ्नो घरमा परिवारमा सिमित रहेर चाडवाड मनाउन आग्रह गरेको हो ।
कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि आसन्न दशैं तिहारमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।
बैठकले नेपाल सरकारको कोभिड–१९ सम्वन्धी नियमको पालना गर्दै विभिन्न खेलकुद, धार्मिक मेला, भिडभाडकाबिचमा गरिने कार्यक्रम, भेला जस्ता ‘मास मुभमेन्ट’मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ ।

यस्तै, प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयलाई कोभिड–१९ को संक्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएका स्थानीयलाई क्वारेन्टीन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामुलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।
यस्तै, आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन सम्वन्धी कार्यविधि अनुशार आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला बाहिरबाट आउने जोसुकै व्यक्तीलाई पिसिआर परिक्षण गरेर मात्र आउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।