खोटाङ । कोरोना संक्रमित भेटिएपछि खोटाङको साकेला गाउँपालिका–२ रतन्छालाई शिल गरिएको छ । काठ्माण्डौंबाट आएका एक युवालाई कोरोना संक्रमण पूष्टी भएपछि वडालाई सोमबारदेखि आगामी कात्तिक ३ गतेसम्मका लागि शिल गरिएको हो ।
घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयलाई सम्भावित संक्रमण हुनबाट बचाउनका लागि हप्ता दिनका लागि वडा शिल गरिएको गाउँपालिकाले जनाएको छ । स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाव संकलन गरेर परीक्षणमा पठाइएकोमा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।
पिसिआर परीक्षणका लागि उनीहरुको स्वाव असोज २० गते संकलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।
सो अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, नेपाल एसबिआई बैंक, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो ।
यससँगै दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।