खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कपास खेतीलाई प्रवद्र्धन गर्नका लागि बजेट व्यवस्था गरेको छ । खाँडीको कपडा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रवद्र्धन गर्नका लागि नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो ।
खाँडीको कपडा उत्पादन गर्न प्रयोग हुने कपास उत्पादनका लागि आर्थिक वर्ष २०७७/०७८ मा १० लाख बजेट बिनियोजन गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताईन् ।
संकटमा पुगेको पूर्खौली व्यवसायलाई जगाउनका लागि नगरपालिकाले कपास खेतीका लागि बजेट विनियोजन गरेको हो । बाबुबाजेको पालासम्म हलेसी तुवाचुङ नगरपालिकाका बिभिन्न वडामा कपासबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएकामा हाल कपासबाट कपडा उत्पादन हुन छाडेको छ । लोपोन्मुख बनिसकेको खाँडीको तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ ।
कपास खेती गर्ने क्षेत्र भने छनौट गर्न बाँकी रहेको उपप्रमुख राईले बताईन् । ‘कपास खेतीका लागि बजेट व्यवस्था गरेका छौँ । उपयुक्त ठाउँको खोजी गरिरहेका छौँ,’ उपप्रमुख राईले भनिन्, ‘अध्ययनका लागि बोलाइएको कृषि प्राविधिकलाई आएर फर्किसकेको छ ।’ ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका एक घरमा भने हालसम्म कपासबाट खाँडीको कपडा उत्पादन हुँदैआएको छ ।
कोगटी र ढ्यांग्रे कपासबाट स्थानीय जुनासरी राईले खाँडीको कपडा उत्पादन गर्दैआएकी छन् । कोगटी र ढ्यांग्रे खेती गरेर कपास निकालेर कपडा तयार पर्ने जुनासरी वडाकै एक्ली हुन् ।
कात्तिकेमा जुनासरी सहित लिला राई, शान्ति राई लगायतले कोगटी र ढ्यांग्रे कपास खेती लगाउँदै आएका छन् । गाउँमा उत्पादित कपास जुनासरीले खरिद गरेर कपडा तयार पारेर बिक्री गर्ने गरेकी छन् ।
जुनासरीले कोगटीको कपास प्रतिधार्नी एक हजार र ढ्यांग्रे कपास प्रतिधार्नी सात सयमा खरिद गर्ने गरेकी छन् । कात्तिकेमा ढ्यांग्रे कपासबाट उत्पादन गरिएको दौरासुरुवाल पुग्ने कपडा प्रतिथान १५ हजार र कोगटीको दौरासुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री हुने गरेको छ ।
कोगटीको कपडाको माग उच्च भए पनि माग धान्न नसकिएको जुनासरीको भनाई छ । कपास खेतीका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनका लागि एक लाख खर्च गरेको थियो ।
‘कोगटीबाट धागो उत्पादन गर्न सबैभन्दा झन्झटिलो र बढि मेहनत चाहिन्छ,’ वडाध्यक्ष राईले भने, ‘तर कोगटीको कपडाको बढि नै माग छ । माग धान्नै गाह्रो देखिन्छ ।’