खोटाङ । खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एबं विक्रीवितरणमा संलग्न दुई युवा पक्राउ परेका छन् । घरैमा मेसिन ल्याएर गाँजा तथा सूर्ती प्रशोधन एबं विक्रीवितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरैमा गाँजा तथा सूर्ती प्रशोधन गरेर अवैध विक्रीवितरण गर्दै आएको सूचनाका आधारमा राई र नेपालीलाई गाँजा प्रशोधन गर्ने मेसिन, गाँजाको धुलो, प्याक गरिएको तयारी अवस्थाको सूर्ती, सूर्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईको घरबाट अवैध रुपमा गाँजा तथा सूर्र्ती प्रशोधन गर्दै विक्रीवितरण भइरहेको सूचनाका आधारमा उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षकको कमाण्डमा खटिएका संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
राईको घरबाट ७ केजी गाँजाको धुलो, गाँजा प्रशोधन गर्ने फलामको एक सेट मेसिन, खोलमा भाले ब्राण्ड राखेर प्याक गरिएको १५ बोरा सुर्ती, दुई बोरा खुला सुर्ती, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, महादेव छाप लेखिएको दुई बोरा स्टीकर, एक थान अचानो र फलामको दुई थान दाउ (काट्ने हतियार) बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राई र नेपालीलाई अवैध लागूऔषध तथा सूर्ती सहित बिहिबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध लागूऔषध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको प्रनाउ चिमरियाले बताए ।
नेपालीले भने गाँजा तथा सुर्ती प्रशोधनका लागि कामदारको रुपमा काम गर्दै आएको खुलेको छ । बरामद भएको सूर्ती तथा सूर्तीजन्य पदार्थ कारबाहीका लागि करदाता सेवा कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
ईजाजत नलिइ सूर्ती उत्पादन गरेको, नक्कली स्टीकर र ब्राण्ड लगाएको तथा अन्तशुल्क स्टीकर नटाँसी विक्री वितरण गरेको पाइएकाले उनीहरुलाई कानून अनुशार कारबाही हुने करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए ।