खोटाङ । खोटाङको दिक्तेलमा सशस्त्र प्रहरीहरुका लागि तनाव सामना व्यवस्थापन तथा स्व हेरचाह कक्षा सञ्चालन गरिएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भई लामो समयसम्म घरपरिवार सँगको प्रत्यक्ष भेटघाट नभएको र भाइरसको जोखिम न्युनिकरणका लागि अरु समयको तुलनामा धेरै खट्नुपर्ने भएकोले तनाव वढि काममा अवरोध हुन सक्ने जोखिमलाई कम गर्ने उद्देश्यले तनाव व्यवस्थापन तथा स्व हेरचाह कक्षा सञ्चालन तालिम गरिएको शाखाका सभापति कुमारसिं बस्नेतले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको आयोजनामा गरिएको सचेतना कक्षामा सशस्त्र प्रहरी बल ७ नम्बर गुल्म हलेसी खोटाङमा कार्यरत सशस्त्र प्रहरी नायव उपरिक्षक सरोज कार्की, सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्रहरी जवानहरु गरी ३५ जनाको सहभागिता रहेको जनाइएको छ ।

सचेतना कक्षाको सहजीकरण नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका उपमन्त्री लिलाबहादुर खत्री र बृहत सामुदायिक स्वास्थ्य परियोजनाका परियोजना फोकल पर्सन लोकमाया थापाले गरेको रेडक्रसले जनाएको छ ।