खोटाङ । कोरोना संक्रमणको फैलिँदो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न धर्मावलम्बीको धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकिर्तन गर्न रोक लगाएको छ ।
दशैंको अवशरमा मठ, मन्दिर, शक्तिपिठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भिडभाड हुँदा संक्रमण फैलिने जोखिम देखिएको भन्दै प्रशासनले धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकिर्तन, रथयात्रा, कलसयात्रा, बलीपूजा, मूर्ति विसर्जन लगायतका क्रियाकलाप गर्न रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको सूचनामा मठ, मन्दिर, शक्तिपिठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा नित्य पूजाआजा बाहेक भिडभाडकाबिचमा गरिने धार्मिक क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।
यस्तै, चाडपर्वको अवसरमा सामुहिकरुपमा भेला, जम्मा भइ गरिने शुभकामना आदान–प्रदान, चियापान जस्ता कार्य नगर्न, सामुहिक रुपमा कार्यक्रम आयोजना गरि गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, समुहमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुती जस्ता कार्यक्रम नगर्न सूचना गरिएको छ ।
प्रशासनले दशैं, तिहार, छठ जस्ता चाडवाडलाई घरैमा बसी परिवारभित्र मात्र मनाउन, जिल्लाभरी साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दुरीका सवारी साधन बाहेकका यातायात सञ्चालन, हिँडडुल र बजार बन्द गर्न भनेको छ ।
यस्तै, आवत–जावत तथा हिँडडडुल गर्दा सबै यात्रु तथा चालक सह–चालक एबं सवारीधनीले नेपाल सरकार भौतिक पूुर्वाधार तथा यातायात मन्त्रालयबाट जारी भएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका बमोजिम सवारीमा सवार गर्ने तथा सवारी साधन सञ्चालन गर्ने, शैलुन, व्यूटीपार्लर हाललाई सञ्चालन नगर्ने भनिएको छ ।
गृह–मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर १ बिराटनगरबाट प्राप्त निर्देशन अनुशार प्रशासनले मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य सुरक्षा सतर्कता बारे सूचना जारी गरेको हो ।
कोरोना संक्रमण दर बढिरहेका बेला जिल्लामा स्वास्थ्य सुरक्षा सावधानी भने घटिरहेको पाइएको छ । मास्कको प्रयोग, भौतिक दुरी कायम गर्नेमा सर्वसाधारणदेखि प्रतिष्ठित व्यक्ती चुकिरहेका छन् ।
हिजोआज बिशेष गरी बजारमा स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन भइरहेका छन् । महामारीका बेलामा सचेतनामुलक अभियान छेड्नुपर्ने जिल्लाका राजनैतिक दलका नेता उल्टै भिडभाड जम्मा गरेर भोटल तानातान गर्ने प्रतिष्पर्धामा उत्रिएका छन् ।