खोटाङ । हाल विभिन्न उपभोक्ता समितिमा बस्न हानाथाप गर्ने प्रवृत्ति बढ्दो छ । उपभोक्ता समितिमा बस्नका लागि तछाडमछाड गर्नेमध्ये थोरैको मनसाय प्राप्त बजेटलाई सही तरिकाले सदुपयोग गर्ने र आफ्नो गाउँठाउँको विकास निर्माणमा टेवा पुर्याउने देखिन्छ । अपवाद बाहेक धेरैजसोको उद्देश्य उपभोक्ता समितिमा बसेर अनुचित लाभ लिने भन्ने नै देखिन्छ ।
तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित महंकला आधारभुत विद्यालयको दुई कोठे शौचालय निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले भने योजनाको रकम बचाएर विद्यालयको अक्षय कोषमा जम्मा गरेको छ ।
शौचालय निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाको शिक्षा शाखामार्फत प्राप्त भएको ३ लाख बजेटमध्ये ६९ हजार ६४५ रुपैयाँ रकम जोगाएर विद्यालयको अक्षय कोषमा जम्मा गरेको उपभोक्ता समितिका अध्यक्ष गोपाल राईले बताए ।
आफ्नो विद्यालयमा भएको अक्षय कोषको वृद्धिमा टेवा पुर्याउनका लागि निर्माण उपभोक्ता समितिले श्रमदान जुटाएर रकम बचाएको जनाएको छ ।
व्याजबाट एक जना निजी शिक्षकलाई तलवको व्यवस्था गर्नेगरी विद्यालयमा आर्थिक वर्ष २०७३/०७४ मा अक्षयकोष खडा गरिएको थियो । सोही अक्षय कोषको मात्रा बढाउनका लागि शौचालय निर्माण वापतको रकम बचाइएको उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।
२ लाख ५ हजारमा शौचालको संरचना बनेपछि कन्टिजेन्सी र व्यवस्थापन खर्च कटाउँदा पनि ६९ हजार रकम बचत भएको हो । ‘अक्षय कोषको व्याजबाट विद्यालयमा एक जना निजी शिक्षक राखेका छौँ ।
त्यही कोषलाई बढाउन योजनाको रकम बचाएका हौँ,’ अध्यक्ष राईले भने, ‘आफ्नै विद्यालय हो । काम गरेका अभिभावकलाई एक÷दुई दिनको पैसा नलिने र त्यसलाई श्रमदान मानेर विद्यालयलाई योगदान दिने सल्लाह भए अनुशार केही रकम अक्षय कोषमा जम्मा गर्न सफल भएका हौँ ।’
नगरपालिकाबाट बजेट प्राप्त भएपछि विद्यालयले उपभोक्ता समितिमार्फत काम अघि बढाएको थियो । शौचालय निर्माणकाक्रममा १६/१७ जनाले दैनिक ज्यालादारीका रुपमा काम गरेका थिए ।
योजनाको जिम्मा लिने उपभोक्ता समिति योजनाको लक्ष्यप्रति इमान्दार भए राज्यको सम्पत्ती सदुपयोगमा योगदान पुग्ने महंकला आधारभुत विद्यालयका प्रअ दिलीप राईले बताए ।
‘उपभोक्ता समितिले चाहेको भए यो रकम बचाउन सम्भव नै थिएन । खल्तीमा जाने पैसा अक्षय कोषमा आएको छ,’ प्रअ राईले भने, ‘उपभोक्ता समितिले मितव्ययीता अनपाउन सक्दा योजनाको पैसा बच्दो रहेछ भन्ने उदाहरण देखिएको छ ।’
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको घिमिरेचोकदेखि दुभे–नर्कटे–दोखुम सडक मर्मतका लागि शहरी विकास मन्त्रालयबाट निकासा भएको १७ लाख २३ हजार बजेटमध्ये १ लाख १४ हजार रकम बचाएर पुःन सोही सडक मर्मतमा खर्च गरिएको थियो ।