जिल्ला प्रशासन कार्यालय खोटाङले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। प्रशासनले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठमा कोरोना संक्रमण देखिएकाले कार्यालयका अन्य सम्पूर्ण कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरि पिसिआर परिक्षण गर्ने काम भइरहेकाले सेवा प्रवाह गर्दा सेवाग्राहीमा समेत कोरोना भाइरसको संक्रमण हुनसक्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शर्मा पौडेलले बुधवार सूचना जारी गर्दै बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जनाएको हो ।
यस्तै, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङमा पनि कोरोना संक्रमण पुष्टि भएपछि अर्को रिपोर्ट नआएसम्मलाई कार्यालय सिल गरिएको छ । खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैजना होम आइसोलेसनमा बस्नुभएको छ ।