खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीमा सडक मर्मत सुरु गरिएको छ । वडा कार्यालय बासपानीले वर्षाका कारण खाल्डाखुल्डी भएका, पहिरो गएका तथा ट्याक्टरका कारण बिग्रेका सडक मर्मत सुरु गरेको हो ।
वडा कार्यालयमार्फत बाक्सिला–ढोकाडाँडा हुँदै खार्ताम्छा जोड्ने सहिद मार्ग, बफ्लेबाट खार्ताम्छा पुग्ने आर्यन सडक, बाक्सिलाबाट खार्ताम्छा जोड्ने लगायतका सडक मर्मत सुरु गरिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।
वर्षाका कारण अवरुद्ध सडकलाई वडा कार्यालयबाट बिनियोजित २ लाख रकमबाट मर्मत सुरु गरिएको हो । कच्ची सडक पुगेका टोलमा हिउँदमा सवारी साधन सञ्चालन गर्न सकिनेगरी उपभोक्ता समितिमार्फत सडक मर्मत सुरु गरिएको वडाध्यक्ष गुरुङले बताए । वर्षाका कारण बिग्रेभत्केका सडक जेसिभि लगाएर कात्तिक १८ गतेदेखि मर्मत सुरु गरिएको हो ।
सडक मर्मतको काम केही दिनभित्र पुरा हुने वडा कार्यालयले जनाएको छ । बासपानीका प्रायः सवै टोलमा कच्ची सडक पुगेको छ । ‘वर्षा याममा पहिरोले बिग्रिएका, खाल्डाखुल्डी भएका र ट्याक्टरले बिगारेका सडक मर्मत सुरु गरिएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘कम्तीमा भएका सडकमा सवारी साधन सञ्चालन होस्, सवारी साधनमार्फत नै टोलमा पुग्ने वातावरण होस् भन्ने हाम्रो लक्ष्य हो ।’