• ट्रेण्डिङ:

शान्ति, सुरक्षा स्थापनामा प्रभावकारी बन्दै गाउँ प्रहरी

शान्ति, सुरक्षा स्थापनामा प्रभावकारी बन्दै गाउँ प्रहरी

रोदिक खबर

२४, कार्तिक २०७७
  • 3.5K
    SHARES
  • शान्ति, सुरक्षा स्थापनामा प्रभावकारी बन्दै गाउँ प्रहरी

    खोटाङ ।  खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा नियुक्त गरिएका गाउँ प्रहरी शान्ति, सुरक्षा एवं दैनिक कार्यसम्पादनका क्रममा सहयोगी देखिएका छन् ।

    बजार व्यवस्थापन, यातायात सेवा व्यवस्थापन एवं कार्यालयसम्बन्धी काममा गाउँ प्रहरी सहयोगी बनेको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 


    गत वर्ष नियुक्त गरिएका गाउँ प्रहरीले हाल ऐँसेलुखर्क बजारमा सडक पेटीमा सामान राखेर बिक्री गर्न, निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउनमा रोक लगाउने गरेका छन् ।

    यस्तै, बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्नेलगायतका महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । 

    गाउँ प्रहरीले गाउँपालिकाभित्र सञ्चालनमा रहेका सडकमा भएका सानातिना अवरोध हटाउने, सडकमा फसेका सवारी साधन निकाल्ने काम गर्दै आएका छन् । यस्तै, कार्यालयमा हुने भीडभाड नियन्त्रणमा समेत गाउँ प्रहरीलाई परिचालन गर्ने गरिएको छ । 

    गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘गाउँ प्रहरीलाई अफिसको काममा पनि लगाउने गरिएको छ । कार्यालयमा हुने भीडभाड नियन्त्रणमा समेत उनीहरूलाई नै खटाउने गरेका छौँ । अझ कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा भीडभाड नियन्त्रण गर्न सहज भएको छ ।’ 
     
    शान्ति, सुरक्षा एवं दैनिक कार्य सम्पादनका क्रममा परिचालन गर्ने गरी गाउँपालिकाले १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो ।

    स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार गाउँ प्रहरीको व्यवस्था गरी शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै नीति, नियमलाई प्रभावकारी कार्यान्यवन गर्नका लागि गाउँपालिकाले प्रहरी भर्ना गरेको हो ।

    कालो टोपी, सेतो सर्ट, नीलो पाइन्ट र कम्मरमा कुखुरी भिरेका गाउँ प्रहरी हाल गाउँपालिकाले तोकेको ड्युटीमा खटिरहेका देखिन्छन् । 


    ऐँसेलुखर्क बजारका सडक पेटीमा जथाभावी राखिएका बिक्रीका सामग्री हटाएर बजार व्यवस्थित गर्न, विद्यालय क्षेत्रमा सवारी साधनको गति सीमित गर्न, क्षमताभन्दा बढी लोड बोकेर गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई निगरानी गर्नेलगायतका प्रयोजनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष निरौलाको भनाइ छ । 

    गाउँपालिकामा पाँच हजार नागरिकका लागि एक जना गाउँ प्रहरीको व्यवस्था गर्नेगरी कार्यविधि ल्याइएको छ । कम्तीमा हरेक वडामा एक जना गाउँ प्रहरी राख्नेगरी गाउँपालिकाले गाउँ प्रहरी व्यवस्थापन कार्यविधि पारित गरिसकेको छ ।

    (पालिकाखबरबाट ।)

     

    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १८:१३:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको