• ट्रेण्डिङ:

उत्कृष्ट छात्र/छात्रालाई अभिभावकको सम्मान  

उत्कृष्ट छात्र/छात्रालाई अभिभावकको सम्मान  

रोदिक खबर

५, मंसिर २०७७
  • 3.3K
    SHARES
  • उत्कृष्ट छात्र/छात्रालाई अभिभावकको सम्मान  

    खोटाङ ।  कक्षामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका छात्र÷छात्रालाई सम्मान गरिएको छ ।

    विभिन्न कक्षामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नती गर्ने १२ छात्र÷छात्रालाई तिहारको देउसी समापनको अवशरमा शैक्षिक सामग्री सहित सम्मान गरिएको हो । 

    उत्कृष्ट अंक ल्याएर माथिल्लो कक्षा उक्लिने गाउँका छात्र/छात्रालाई प्रोत्साहन स्वरुप अभिभाबकले कापी, कलम लगायतका शैक्षिक सामग्री सहित सम्मान गरेका हुन् ।

    च्यास्मीटार माबि च्यास्मीटारबाट कक्षा ७ मा प्रथम स्थान प्राप्त गर्ने अनुशा राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई र कालिका प्रावि बाहुनीडाँडाबाट कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने यशोधा राईलाई पुरस्कृत गरिएको हो ।

    यस्तै, च्यास्मीटार माबिबाट कक्षा ८ मा दोश्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ४ मा दोश्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कालिका प्राविबाट कक्षा ३ मा दोश्रो स्थान प्राप्त गर्ने सजना राई, काठ्माण्डौंबाट कक्षा २ मा दोश्रो स्थान प्राप्त गर्ने आर्यन राई र कालिका प्राविबाट कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने प्रमिला राई पुरस्कृत भएका छन् । 
    कालिका प्राविबाट कक्षा ४ मा तेश्रो स्थान प्राप्त गर्ने आशिका राई, च्यास्मीटार माबिबाट कक्षा ३ मा तेश्रो स्थान प्राप्त गर्ने बिशाल राई र कालिका प्राविबाट कक्षा २ मा तेश्रो स्थान प्राप्त गर्ने सिहाङ राईले पनि अभिभावकको पुरस्कार पाएका छन् ।

    ‘पढिगुनी के काम, हलो जोति खायो माम’ भन्दै बालबच्चालाई विद्यालय नपठाउने अभिभाबकको चेतना अभिबृद्धि एबं उनीहरुमाझ नैतिक दवाव सिर्जना गर्नका लागि गाउँका उत्कृष्ट छात्र÷छात्रालाई सम्मान गरिएको हो ।

    गाउँबाट उत्कष्ट अंक ल्याएर उत्तिर्ण हुने छात्र/छात्रालाई अभिभावक पञ्चराम राई, रहरमान राई, देबीसरा राई, भगवती राई, सुनिता राई, नविन राई, केसीराज राई, सुजन राई लगायतका अभिभावकले कापी र कलम प्रदान गरेका छन् ।

    कार्यक्रममा विद्यालय जाने उमेर समुहका १० बालबालिकालाई एक÷एक प्रति बर्णमाला र २७ बालबालिकालाई कापी र डटपेन प्रदान गरिएको अभिभावक खबिराज राईले बताए । 

    आफ्नो बालबच्चालाई पढाईप्रति प्रोत्साहित गर्नका लागि दाल्फुका अभिभाबकले हरेक वर्ष उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने छात्र/छात्रालाई तिहार समापनको अवशरमा सम्मान गर्दैआएका छन् ।

    मेहनत गर्ने र राम्ररी पढ्ने गाउँका बालबालिकालाई पढाईमा प्रोत्साहित गर्न र अन्य छात्रछात्रालाई पनि पढाईप्रति आकर्षित गर्न अभिभाबककोतर्फबाट सम्मानको व्यवस्था गरिएको हो ।

    ‘छोराछोरीले पढ्छन्, राम्रो अंक ल्याएपनि अभिभाबकबाट प्रोत्साहन पाउँदैनन्,’ राईले भने, ‘पढ्ने र नपढ्ने दुबैलाई शिक्षा क्षेत्रमा आकर्षणकालागि सम्मानको व्यवस्था गरिएको हो ।’

    गाउँघरमा अझैपनि आफ्ना स्कुले छोराछोरीलाई पठनपाठनमाभन्दा घरायसी काममा लगाउने प्रचलन कायम छ । राम्रो लेखपढ गर्ने कतिपय बालबालिकाको क्षमताको कदर हुन सकिरहेको छैन । अझ शहर र सदरमुकामबाट दूरदराज मानिएका ठाउँमा यस्तो अभ्यास कमै हुन्छन् ।

    त्यही भएर राम्रा बिद्यार्थीलाई अझ मेहनत गर्न र अन्यलाई पनि पढाईमा प्रोत्साहित गर्ने अभ्यास स्वरुप उत्कृष्ट छात्र÷छात्रालाई पुरस्कारको व्यवस्था गरिएको अर्का अभिभावक केसीराज राईले बताए ।

    कार्यक्रममा गाउँका बालबालिकालाई बिद्यालय जानबाट बञ्चित नगराउन अभिभाबकलाई आग्रह गरिएको छ । गाउँमा सम्मान पाउँदा बालबच्चामा ‘पढ्ने हौसला’ मिलेको बताइएको छ ।  

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १८:४६:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको