खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘लैंगिक हिंसा न्यूनीकरणमा आमा समुहको भूमिका’ विषयक प्रतियोगीतात्मक कार्यपत्र प्रस्तुत गरेको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता“ भन्ने मुल नाराका कार्यपत्र प्रतियोगितात्मक कार्यक्रम गरेको हो ।

कार्यपत्र प्रतियोगितात्मक कार्यक्रममा सदावहार आमा समूह दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स.छितापोखरी प्रथम, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुको मिलिजुली आमा समूह द्वितीय, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको नवजागरण आमा समूह तृतीय र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीको गुँरासेडाँडा आमा समूह सान्त्वना भएको आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए ।
विजेता समुहलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एकहजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई, वडाध्यक्षहरू शम्सेरवहादुर कार्की, भीमवहादुर खत्री, ईन्द्रवहादुर बस्नेत, पूर्णवहादुर खड्का लगायतले पुरस्का प्रदान गरेका थिए ।
कार्यपत्र प्रतियोगितात्मक कार्यक्रममा पालिकाभित्रका १७ समूहले सहभागी रहेका थिए । यसै कार्यक्रमको अवशरमा गाउँपालिकाले ३ जनालाई अपाङ्गता परिचय पत्र पनि वितरण गरेको छ । यसअघि गाउँपालिकाले ९७ जनाले परिचयपत्र वितरण गरि सकेको जनाएको छ ।
यस्तै, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवशरमा साकेला गाउँपालिकाले हिंसामा परेका ५ वडाका १० महिलालाई बाख्राको पाठो वितरण गरेको छ । जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ हिंसा पीडित महिलालाई बाख्राको पाठो हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र रावाबेँसी गाउँपालिकाले लैंगिक हिंसा न्यूनीकरणका विषयमा अन्तक्रिया कार्यक्रम गरेको जनाइएको छ ।