खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१३ नुनथला र वडा नम्बर–१२ जालपाको नवनिर्मित वडा कार्यालय भवन हस्तान्तरणसँगै उद्घाटन गरिएको छ । नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले नुनथलाको शुक्रबार र जालपाको शनिबार वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।
करिव सय जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्य समितिका सदस्य बस्ने चार कोठे भवन निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरे लगत्तै नगरपालिकाले वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् । निर्माण कम्पनी नाछिरिङ कन्ट्रक्सनले आगामी पुस मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन समय अगावै पुरा गरेको जालपाका वडाध्यक्ष विकास राईले बताए ।
नगरपालिकाका हरेक वडामा एकै डिजाईनका वडा कार्यालय भवन निर्माण अभियानले गति लिएको छ । हालसम्म तत्कालीन गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ वडामा ‘एकै बजेटमा एकै डिजाईन’ का भवन निर्माण अभियान चलाएको हो ।
स्थानीय निर्वाचनमार्फत नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले बनाएको पाँच वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्य अनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको हो ।
पक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाह सहज भएको बताइएको छ । नगरपालिकाका बाँकी ९ वडामा पनि वडा कार्यालय भवन निर्माणको काम धमाधम भइरहेको नगरप्रमुख रिजालले बताए ।
त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको भवन निर्माणको काम भने अन्यको तुलनामा सुस्त देखिएको नगरपालिकाले जनाएकोे छ । ‘हामी निर्वाचित भएर आए लगत्तै पाँच वर्षे आवधिक योजना बनाएका थियौँ । त्यो आवधिक योजनामा पाँच वर्षभित्र नगरपालिकाको आफ्नै भवन हुन्छ, वडा कार्यालयको आफ्नै भवन हुन्छन् भनेका थियौँ ।
अहिले हामी त्यही योजना कार्यान्वयनको चरणमा छौँ,’ नगरप्रमुख रिजालले भने, ‘बाँकी वडामा पनि धमाधम भवन निर्माणको काम भइरहेको छ । सात वडाको प्रोग्रेस राम्रो छ । निर्धारित समयमा भवन निर्माणको काम पूरा हुनेमा हामी बिश्वस्त छौँ ।’ नगरपालिकाका अनुसार आगामी पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ ।
सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो । तर, कतिपय भवन सोभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । जालपाको भवन करिब ४७ लाखमै बनेको वडाध्यक्ष राईले बताए ।
भवन उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल, लेखा अधिकृत राजकुमार राई, नगरप्रमुख रिजालका राजनीतिक सल्लाहकार कमल ढकाल, वडा नं. १४ का वडाध्यक्ष दिनेश राई लगायतको उपस्थिति रहेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्न भवन सञ्चालनमा छन् ।