खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बैंकमाफर्त सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत उपलब्ध गराउने सरकारको नीति अनुसार गाउँपालिकाले बैंकमार्फत भत्ता वितरण गर्ने भएका हो ।
शुक्रबार बसेको कार्यपालिका बैठकले सानिमा बैंक दिप्रुङ शाखामार्फत दोश्रो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । कार्यपालिका बैठकले निर्णय गरे लगत्तै गाउँपालिका र सानिमा बैंकविच सम्झौता भएको छ ।
सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहालले हस्ताक्षर गरेका छन् भने बैंकका तर्फबाट सानिमा बैंक दिप्रुङ शाखा प्रवन्धक चेवन श्रेष्ठले हस्ताक्षर गरेको गाउँपालिकाले जनाएको छ ।
७ वडा रहेको यस गाउँपालिकामा एक हजार ९८५ जना सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । उनीहरुकोे बैंकले टोलटोलमा पुगेरशुन्य मौज्जादमा खाता खोलिदिनेछ ।
९० वर्षमाथिको ‘क’ वर्गका अपाङगलाई घर टोलमै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइने र अन्यले भने बैंकमा गएर आफ्नो भत्ता बुझ्नुपर्ने गाउँपालिका अध्यक्ष राईले बताए ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा यस गाउँपालिकामा १ करोड ८५ लाख २१ हजार ५६५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो ।
यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न बिहीबार पाँच वटा बैंकसँग सम्झौता गरेको छ ।