खोटाङ । किसानको प्रोत्साहन र कृषि पेशाको सम्मानमा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । ‘कृषि उव्जनीको बृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार र बुधबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा पालिका स्तरिय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।
कृषकले उत्पादन गरेका कृषि उपजबिचमा प्रतिष्पर्धा गराउने, एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यवसायीक बन्नका लागि प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका ७ वटै वडाका किसानले तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, दलहन तथा तेलहन, नगदे बाली, जरे बाली र विविध बाली प्रदर्शनीमा राखेका थिए ।
कृषि मेलामा गाउँपालिकाका ऐसेलुखर्क, महेश्वरी, सुंदेल, दिप्सुङ, राखाबांदेल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफुल, खाद्यान्न, तेलहन/दलहन तथा नगदे बाली अन्तरगतका १५ विद्याका स्टल राखिएको गाउँपालिकाको कृषि तथा पशु शाखाले जनाएको छ । कृषि मेला प्रदर्शनी समापनको अवशरमा १५ विद्यामध्ये हरेक विद्याका प्रथम, दोश्रो र तेश्रो गरी ४५ किसानलाई पुरस्कृत गरिएको छ ।