खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकास्थित पृथ्वी मावि बाक्सिलाका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । केपिलासगढी गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका नृप अधिकारीले उपलव्ध गराएको न्यानो कपडा सोमवार विद्यार्थीहरूलाई प्रदान गरिएको हो ।
कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ३ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई ९५ हजार बराबरको स्वीटर, जम्फर र ट्राउजर प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रणबहादुर राईले जानकारी दिए । प्रअ राईका अनुसार कक्षा १ देखि ३ कक्षासम्म ६० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
जाडोमा न्यानो कपडाको अभावले गर्दा कतिपय बालबालिकाहरु विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरण गरिएको सहयोगदाता अधिकारीले बताए । सहयोगदाता अधिकारी परिवारलाई विद्यालयले हार्दिक धन्यवाद ज्ञापन पनि गरेको छ ।
यस्तै, समाजसेवी अधिकारीले केपिलासगढी गाउँपालिका–४मा रहेका दुई आधारभूत चार प्राथमिक विद्यालयलाई पनि स्वीटर, जम्फर र ट्राउजर प्रदान गरेका छन् ।