खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ । आईतबार भएको आगलागीमा घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी धैरेनीटारका बुद्धि लम्सालको परिवारलाई गाउँपालिकाले एक थान त्रिपाल, ९० केजी चामल, ५ केजी नुन, ५ केजी दाल र १० लिटर तेल प्रदान गरेको हो ।
अग्नी पीडितलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले सोमबार घरको भग्नावशेषमा पुगेर राहत प्रदान गरेका छन् । यस्तै, अग्नी पीडित परिवारलाई वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले पनि ६० केजी चामल, ५ केजी चिनी, ५ लिटर तेल, २ केजी दाल र ४ केजी नुन प्रदान गरेका छन् ।
छिमेकी गुणराज पाण्डेको कटेरोमा गाईवस्तुको खोले पकाउने क्रममा सल्किएको आगोले लम्सालको घर जलेको हो । आगलागीमा लम्सालको करिब १८ लाख ९२ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।

लम्सालको दुई/दुई तले दुई वटा घर, कटेरो तथा ३ लाख ५० हजार नगद, ३ तोला सुन, २१ मुरी धान, ७ मुरी मकै लगायत जलेको प्रहरीले जनाएको छ ।
दिउँसो २.१५ बजे सुरु भएको आगो प्रहरीचौकी डुम्रेधारापानी र प्रहरीचोकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयको टोलीले ४.२५ बजे नियन्त्रणमा लिएको थियो । घर जलेपछि लम्साल परिवारका पाँच जनाको विचल्नी भएको छ ।