मिर्गौला रोगी कृष्णलाई आर्थिक सहयोग जुट्दै

मिर्गौला रोगी कृष्णलाई आर्थिक सहयोग जुट्दै

रोदिक खबर

१४, माघ २०७७
  • 5.0K
    SHARES
  • मिर्गौला रोगी कृष्णलाई आर्थिक सहयोग जुट्दै

    खोटाङ । संयुक्त आवाज परिवर्तन समाजको पहलमा खोटाङका एक जना मिर्गौला रोगीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न रोगबाट ग्रसित भएपछि उपचारकाक्रममा आर्थिक अभाव झेलिरहेका सर्वसाधारणलाई सहयोग जुटाउँदै आएको समाजको पहलमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर) का मिर्गौला रोगी कृष्ण खत्रीलाई आर्थिक सहयोग जुटाइएको हो ।

    दुबै मिर्गौला फेल भएपछि चार वर्षअघिदेखि काठ्माण्डौंको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा नियमित डायलासिस गराइरहेका खत्रीलाई संयुक्त आवाज परिवर्तन समाजको पहलमा १५ हजार पाँच सय प्रदान गरिएको छ ।

    संकलित सहयोग रकम मंगलबार दिक्तेलस्थित खोटाङखबर साप्ताहिकको कार्यालयमा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले बिरामी खत्रीका भतिज पत्रकार दिलीप खत्रीलाई हस्तान्तरण गरेका छन् ।

    मिर्गौलाको समस्याबाट पीडित खत्रीलाई चार जना सदस्य तथा तीन जना अन्य दाताबाट सहयोग रकम संकलन गरेर प्रदान गरिएको संयुक्त आवाज परिवर्तन समाजका संस्थापक सदस्य कृष्णकला राईले बताईन् । 

    दुबै मिर्गौला फेल भएको पूष्टि भएपछि खत्री २०७३ साल असार १३ गतेदेखि हालसम्म डायलासिसको भरमा बाँचिरहेका छन् । अकस्मात शरीर सुन्निने, वाकवाकी लाग्ने लगायतका समस्या देखिएपछि उनलाई २०७३ साल असार ५ गते छाउनीमा पुर्‍याइएको थियो ।

    डायलासिस र औषधिको भरमा बाँचिरहेका खत्रीको उपचारकाक्रममा लाखौं रकम सक्किसकेको छ । हप्तामा दुईदेखि तीन पटक डायलासिस गराउँदै बसिरहेका खत्री बिरामी भए यता एक÷एक दिनका लागि दुई पटक मात्र घर पुगेका छन् ।

    गत वर्ष आफ्नै बाबु पदमबहादुरको मृत्यु हुँदा समेत उनी घर जान सकेनन् । कोठामै किरिया बसेर पशुपतीनाथ पुगेर चोखिएको खत्रीले बताए । उपचारकाक्रममा भएका घडेरी समेत बिक्री गरिसकेको खत्रीले बताए ।

    हाल उनी छाउनी नजिकै डेरामा बसेर हप्ताको मंगलबार र शुक्रबार नियमित डायलासिस गराउँदै आएका छन् । डेढ वर्षसम्म हप्ताको तीन पटक डायलासिस गराएका खत्रीको स्वास्थ्यमा जटिल समस्या देखिए भने अहिले पनि तीन पटक पनि डायलासिस गर्ने गरिएको छ । डायलासिस सुरु गरे यता उनले पिसाव गरेका छैनन् । 

    मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना 

    चार वर्षको अवधिमा कृष्णको मिर्गौला प्रत्यारोपण गर्ने प्रयास पनि भए । तर, दाता भेटिएनन् । भेटिएका दाताबाट पनि नाता प्रमाणित गर्नुपर्ने व्यवस्थाका कारण मिर्गौला प्रत्यारोपणमा कानूनी जटिलता आइपरे ।

    श्रीमती कुमारी खत्री पनि मिर्गौला दिन तयार भईन् । तर कुमारी आफै सुगर, प्रेसरको विरामी भएकाले श्रीमानलाई मिर्गौला दान गर्न असमर्थ भईन् । मिर्गौलाकै उपचारकाक्रममा सरकारले डायलासिस सेवा निःशुल्क उपलव्ध गराउन सुरु गरे ।

    त्यस यता डायलासिस भने निःशुल्क गराउँदै आएको खत्रीले बताए । डायलासिस बाहेक औषधिमा मात्र उनको मासिक २० देखि २५ हजार खर्च हुने गरेको छ । यद्यपि, सैनिक परिवारका भएका कारण उनलाई वार्षिक १ लाख १० हजार बराबरको औषधि निःशुल्क उपलव्ध हुने भएकाले आर्थिकरुपमा सहज भएको छ ।

    औषधिमा १ लाख १० हजारभन्दा बढि लागे भने आफैले खर्च बेहोर्नु पर्ने खत्रीले बताए । हाल उनी मिर्गौला प्रत्यारोपणको प्रयासमा छन् । ‘हर्ट अट्याक भएपछि गत मंसिर २५ गते एनजियोग्राम गर्नु पर्‍यो । दुई पल्ट डाक्टरले नै मायाँ मारेको थियो, तर बाँचेँ,’ खत्रीले भने, ‘त्यसपछि अलि बाँच्छुजस्तो लागेको छ । कोही भगवान बनेर आइदियो भने पक्कै पनि बाँच्ने छु । तिनै भगवान पर्खिरहेको छु ।’ उनका दुई छोरामध्ये जेठो छोरो घर सम्हालेर बसिरहेका छन् । 

    प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - २१:२३:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको