खोटाङ । खोटाङको साविकको सदरमुकाम दिक्तेलबजारको सडक ढलानका लागि थप ५ करोड बजेट प्राप्त भएको छ । पहिलो चरणमा दिक्तेलबजारको किरातचोक (रत्नपार्क) स्थित जिरोप्वइन्टदेखि सिँचाई गेट, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र पुरानो बैंकचोकदेखि झिसेपु मन्दीर जाने खण्ड ढलान भइसकेको अवस्थामा बाँकी खण्डको आरसिसि ढलानका लागि शहरी विकास मन्त्रालयबाट थप बजेटको टुंगो लागेको हो ।
दिक्तेलबजारको बाँकी खण्ड ढलानका लागि नेपाल सरकार अर्थ मन्त्रालय वजेट तथा कार्यक्रम महाशाखाले शहरी विकास मन्त्रालयलाई ५ करोडसम्मको सिमाभित्र रहेर निर्माण कार्य अगाडि बढाउन सहमती दिने निर्णय गरिएको भन्दै बिहिबार पत्राचार गरेको छ ।
अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्ष बिनियोजित बजेटमध्ये खर्च हुन नसक्ने रकमबाट बजारका सडक ढलान गर्ने बजेट व्यवस्थापन गर्न भनेको छ । प्रतिनिधिसभा बिशाल भट्टराईले दिक्तेलबजार ढलानका लागि पाँच करोड बजेट उपलव्ध भएको शुक्रबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
बजेट दिक्तेलबजारको आरसिसि ढलानकै निरन्तरता स्वरुप प्राप्त भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । सो बजेटले चालु आर्थिक वर्षभित्रै दिक्तेलको सिँचाई गेटदेखि नेपाल टेलीकमसम्मको सडक ढलान गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।
चालु आर्थिक वर्षको अन्त्यामा प्राप्त भएको बजेटले यही आर्थिक वर्षभित्र ढलान हुनेमा भने आशंका उव्जिएको छ । पहिलो चरणमा आर्थिक वर्ष २०७६/०७७ मा दिक्तेलबजारमा गरिएका ढलानको गुणस्तरका विषयमा स्थानीयले असन्तुष्टी जनाएका थिए । अव्यवस्थित बजारीकरणका कारण दिक्तेलबजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलको ढोका छेकिन पुगेको छ भने कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि हुन पुगेको छ ।
बजारका घरहरुलाई सडकको सतहसँग मिल्नेगरी पुःननिर्माण गरे मात्र बजार थप व्यवस्थित बन्दै जाने देखिएको छ । दिक्तेल–खानीडाँडा सडक खण्डमा पर्ने टेलीकमदेखि हाटडाँडासम्मको खण्ड भने दिक्तेल–खानीडाँडा पिचकाक्रममा स्वतः कालो पत्रे हुने छ । पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेलबजार ढलानको काम सुरु गरिएको हो ।