खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम शुरू गरेको छ । समाजमा अझैपनि छोरीलाई हेर्ने नजर परिवर्तन नभएकाले समाजमा छोरीलाई हेर्ने नजर परिवर्तन गर्ने लक्ष्यका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिकाले सोमबार ‘बालिका बचत’ कार्यक्रम शुरू गरेको हो ।
आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रमबाट पारित भएको बालिका बचत कार्यक्रमको हलेसी सूचना केन्द्रको प्राङ्गण हलेसीमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व जलस्रोत राज्यमन्त्री मन्त्री महालक्ष्मी उपाध्याय डिनाले हलेसी तुवाचुङ नगरपालिका मंगलटारकी लिलाकुमारी परियारकी छोरी सुनिला परियारलाई बालिका बचत कार्यक्रम अन्तर्गतको चेक हस्तान्तरण गरेर शुभारम्भ गरेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताइन् ।
बालिका बचत कार्यक्रममा नगरपालिकाभित्र गएको साउनदेखि यता जन्मिएका बालिकाहरुलाई तीन वर्षसम्म वार्षिक चार हजारका दरले रकम प्रदान गरिने व्यवस्था छ । यसका लागि नगरपालिका र हलेसीस्थित सालपा विकास बैंकविच सम्झौता भएको छ । सम्झौता अनुसार बालिकाको नाममा मुद्धती खाता खोलिने र आमा मात्रै हकवाला रहनेछ ।
बालिका बचत कार्यक्रममा नगरपालिकाले बालिकाको बैंक खातामा ३ वर्षमा १२ हजार रुपैयाँ बैंकमा जम्मा गरिदिनेछ । मुद्धती खाता भएकाले जन्मिएको बालिका १५ वर्ष पुगेपछि मात्र उक्त रकम निकालेर प्रयोग गर्न सक्छिन् । यसविचमा आमाबुबाले पनि छोरीको खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
नगरपालिकाको ११ वडामा वर्थिङ सेन्टर स्थापना गरेर सञ्चालन गरिएकोे, महिलाहरुका लागि विभिन्न सीप विकास तालिम प्रदान गरिएको तथा अन्य विभिन्न महिलामैत्री कार्यक्रम गरेर नगरपालिकाले महिलाहरुको जीवनस्तर उकास्नमा सहयोग गरिरहेको नगरप्रमुख इवन राईले बताए । महिलामैत्री नगरपालिका घोषणा गरिने समेत नगरप्रमुख राईले बताए ।
कार्यक्रममा नेपाली महासमिति सदस्य तथा संविधान सभा सदस्य सरस्वती बजिमय, नेपाल संस्कृत विश्व विद्यालय प्रध्यापक संघकी सदस्य तथा बाल्मीकी विद्यापीठ क्याम्पस उपप्रध्यापक रोदना घिमिरे, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, कर्मचारी लगायतको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।
https://www.youtube.com/watch?v=mMYhdHYCdtI