खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एग्रो टुरिजमको विकासका लागि माछा फार्म सञ्चालनको अवधारणा अघि सारेको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी रहेको नगरपालिकाले एग्रो टुरिजमको बिस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको कुखुरेबेँसीमा माछा फार्म सञ्चालनका लागि मत्स्य विकास केन्द्र बालाजुको प्राविधिक सहयोगमा डिपिआर तयार पारिसकिएको नगरप्रमुख इवन राईले बताए ।
त्रिधार्मिकस्थल हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई दुधकोसीको किनारमा रहेको कुखुरेबेँसीमा पु¥याउने र उनीहरुको बसाई एक/दुई दिन लम्व्याउने लक्ष्यका साथ नगरपालिकाले फिस फार्मको अवधारणा अघि सारिएको हो ।
एग्रो टुरिजमको बिकासका लागि कुखुरेबेँसीमा फैलिएको करिब ९२ रोपनी जग्गाभित्र रेष्टुरेन्ट, माछा पोखरी, स्विमिङ पुल, रिसोर्ट, बगैंचा लगायतका आकर्षक संरचना निर्माण गरिने डिपिआरमा उल्लेख छ ।
कुखुरेबेँसीमा माछा पालनका लागि ठूला–ठूला ७ वटा पोखरी निर्माण गरिने छन् । करिब ६ करोड ८ लाख ७७ हजार ३३५ रुपैयाँमा आवश्यक संरचना निर्माण गरेपछि माछा फार्म भाडामा सञ्चालन गर्न दिइने नगरप्रमुख राईले बताए । सो स्थानमा फुलबल, भलिबल लगायतका खेलकुद सम्वन्धी गतिविधिका लागि पनि संरचना तयार पारिने जनाइएको छ ।
फिस फार्मका लागि आवश्यक बजेट जुटाउन प्रदेश र संघीय सरकार समक्ष माग गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालय दुर्छिमबाट करिब १५ किलोमिर टाढा रहेको कुखुरेबेँसीमा दुर्छिम–मंगलटार (सिजन मार्ग) पार गर्दै माछा फार्ममा पुग्न सकिन्छ ।
हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कुखुरेबेँसीमा बास बस्न वा घुम्नका लागि पु¥याउँदै पर्यटन क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ फिस फार्म सञ्चालनको योजना बनाइएको नगरप्रमुख राईले बताए ।