• ट्रेण्डिङ:

एउटै वडामा एकैदिन चार वटा भवन उद्घाटन

एउटै वडामा एकैदिन चार वटा भवन उद्घाटन

रोदिक खबर

२, चैत्र २०७७
  • 3.8K
    SHARES
  • एउटै वडामा एकैदिन चार वटा भवन उद्घाटन

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा चार वटा भवन उद्घाटन गरिएको छ । विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा वडा कार्यालय, स्वास्थ्य चौकी, चम्पावती मावि र भैरेवेश्वर महिला जागरण मञ्चको भवन उद्घाटन गरेका हुन् ।

    dip.jpg

    यसै कार्यक्रमका अवशरमा विद्यार्थीका लागि नियमित वितरण गरिने दिवा खाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याड पनि वितरण गरिएको छ ।

    नगरपालिकाको ७० लाखको लागतमा सञ्जिव निर्माण सेवा प्रा.लि.ले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाँबी हस्तानतरण गरेका छन् ।
    यस्तै, राष्ट्रिय पुनः निर्माण प्राधिकरणको एक करोड ७० लाख लागतमा पुष्पाञ्जली कन्ट्रक्सन प्रा.लि. काठमाडौँले निर्माण गरेको स्वास्थ्य चौकी भवनको चाँबी पनि सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरिएको छ । यता, राष्ट्रिय पुनः निर्माण प्राधिकरणको ७० लाख र नगरपालिकाको २८ लाखको लागतमा चम्पावती माविमा निर्माण गरिएको भवनको चाँबी पनि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
    नव निर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याबको स्थापना गरिएको छ भने, विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिरको स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी पाँच लाख  प्राप्त बजेटबाट भवन निर्माण गरिएको वडा सदस्य मनिषा खनालले बताइन् ।
    संयुक्त रुपमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने सातजना जग्गादातालाई सम्मान समेत गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी तथा भैरेवेश्वर महिला जागरण मञ्चको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने सबै जग्गादातालाई नगरप्रमुख रिजाल र राईले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

    dip1.jpg
    वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । यस्तै, स्वास्थ्य चौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ ।

    जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
    भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवनहरु निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभुति भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

    dip2.jpg
    १५ वडा रहेको यो नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ वडामध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेका छन् ।
    एउटा वडाका लागि  ७० लाखका दरले बजेट विनियोजन गरिएको एउटै किसिमको सबै वडा कार्यालय भवन यहि चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताए । नगरपालिकामा निर्माणााधीन वडा कार्यालय भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २३:२१:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको