चितवन । जिल्लाको भित्री सडकमा शनिबार साँझ बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ । निधन हुने तीनैजना स्कुटरमा चढेकाहरु हुन् ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–२२ पटिहानी पकौडी बजारमा सवा ६ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए । स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको प्रनाउ थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा सोही अस्पतालमा साँझ ७ बजेतिर उनीहरुको निधन भएको प्रनाउ थापाले जानकारी दिए ।