खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीमा सिसि क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा बिकास गर्नका लागि हलेसी गुफा, हलेसी परिषर तथा हलेसीबजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको हो ।
गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेश द्धार, सूचना केन्द्र, रिट्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजार लगायतका स्थानमा सिसि क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्ष अघि जडान गरिएको ७ वटा सिसि क्यामेरा प्रभावकारी देखिएपछि हलेसीमा पुःन थप सिसि क्यामेरा जडान गरिएको हो ।
आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ १५ लाख खर्चमा सिसि क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।
‘हलेसी मन्दिरको संवेदनसिल क्षेत्रमा पहिल्यै सिसि क्यामेरा राखेका थियौँ । जसको सहयोगमा हामीले दुई लाख पैसा र एक तोला सुन भेटेर सम्वन्धित व्यक्तीलाई फिर्ता दिन सफल भयौँ ।
भुलवस भिडभाडमा हराएका ज्येष्ठ नागरिक र बालबच्चा खोलेर आफन्तको जिम्मा लगाउन पनि सिसि क्यामेरा सहयोगी बनेको छ,’ नगरप्रमुख राईले भने, ‘हलेसीमा चढाइएका भेटीको पारदर्शीता कायम गर्न र शान्ति सुरक्षा कायम गर्न सिसि क्यामेरा फलदायी भएको हाम्रो अनुभव छ ।’
हलेसी आउने पर्यटक तथा दर्शनार्थीले चढाएका भेटी र गहनाको निगरानीमा समेत सिसि क्यामेरा उपयोगी बनेको नगरपालिकाले जनाएको छ । नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा हलेसीमा सिसि क्यामेरा जडान गरिएको हो ।