• ट्रेण्डिङ:

खोटेहाङमा मेलमिलापकर्ताको क्षमता अभिबृद्धि पुनर्ताजगी तालिम 

खोटेहाङमा मेलमिलापकर्ताको क्षमता अभिबृद्धि पुनर्ताजगी तालिम 

रोदिक खबर

१९, चैत्र २०७७
  • 3.4K
    SHARES
  • खोटेहाङमा मेलमिलापकर्ताको क्षमता अभिबृद्धि पुनर्ताजगी तालिम 

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाका मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि पुनर्ताजगी तालिम सुरु गरिएको छ । गाउँमा देखा पर्ने विवादलाई गाउँमै हल गर्नका लागि छानिएका मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि सम्वन्धी ४८ घण्टाको पुनर्ताजगी तालिम सुरु गरेको हो ।

    बुधबारदेखि सुरु गरिएको तालिममा ९ वडाका तीन/तीन जनाका दरले २७ मेलमिलापकर्ता, न्यायीक समितिका ३ जना पदाधिकारी, २ जना कर्मचारी ९ वटै वडाका वडाध्यक्ष गरी ३१ जना सहभागी छन् । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको ८ दिनको तालिम गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् । 

    स्थानीय स्तरमा न्यायीक प्रणालीलाई सहज र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्रत्येक वडामा तीन÷तीन जना मेलमिलापकर्ता तयार पारेर २०७५ साल फागुन २६ गते देखि चैत ३ गतेसम्म क्षमता अभिबृद्धि तालिम आयोजना गरेको थियो । तिनै मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले पुनर्ताजगी तालिम आयोजना गरेको हो ।

    वडामा छानिएका मेलमिलापकर्ताले पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवयानी प्रकृतिका मुद्धा, सानातिना कुटपिट, लुटपिट लगायतका फौजदारी मुद्धा, व्यापार वा व्यवसायिक प्रकृतिका जुनसुकै विवादलाई मेलमिलापको माध्यमबाट टुंग्याउने भूमीका निर्वाह गरिरहेका छन् ।

    तालिममा सहभागीलाई द्वन्द्व/विवादको अवधारणा र विकास, विवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्व, मेलमिलापकर्ताको भूमीका, दायित्व, मेलमिलाप वार्ताको सीप, मेलमिलाप प्रकृया लगायतका विषयमा जानकारी दिइने खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष एबं न्यायीक समितिका संयोजक कविता राईले वताईन् ।

    दैनिक ६ घण्टा सञ्चालन हुने तालिममा मानव अधिकार मञ्च ईलामका सहजकर्ता शेखरनाथ सापकोटा र ईश्वर लुंगेली मगरले सहजीकरण गरिरहेका छन् । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    तालिम जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यको उपस्थितिमा समापन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 
    नेपाल सरकार बादी हुने अर्थात गम्भीर प्रकृतिका फौजदारी मुद्धा बाहेकका साना तिना मुद्धा मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने व्यवस्था छ ।

    प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - १३:०७:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको