खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले नदी तथा खोलामा बिष तथा करेन्ट लगाएर माछा मार्न रोक लगाएको छ । गाउँपालिकाको क्षेत्रभित्र पर्ने दुधकोसी र रावाखोलामा माछा मार्नेक्रममा विष लगाउने र करेन्ट लगाउने गरेको पाइएकाले गाउँपालिकाले अवाञ्छित कार्य नगर्न÷नगराउन अनुरोध गरेको हो ।
गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बिहिबार सूचना जारी गर्दै आगामी दिनमा माछा मार्नेक्रममा नदी तथा खोलामा करेन्ट र विष लगाउने गरेको पाइएमा कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएका छन् । दुधकोसी र रावाखोलामा करेन्ट र विषय लगाएर माछा मार्ने गरेको जानकारीका आधारमा सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
दुधकोसीमा भने स्थानीयले नै विष तथा करेन्ट लगाउने गरेको बताइएको छ । रावाखोलामा भने अन्यत्रबाट आउने स्थानीयले माछा मार्नेक्रममा करेन्ट तथा विष प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आग्रह विपरित नदी तथा खोलामा करेन्ट तथा विष लगाउनेको बारेमा गोप्य सूचना उपलव्ध गराउनेलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष निरौलाले बताए । करेन्ट तथा विष लगाउनेको विषयमा प्रहरी कार्यालय वा गाउँपालिकाको कार्यालयमा सूचना दिन सकिने जनाइएको छ ।