खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मकैको खोसेलाबाट उपयोगी सामग्री उत्पादन सम्वन्धी एक महिने तालिम सुरु गरेको छ । स्थानीय महिलालाई मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्न सिकाउँदै आम्दानीको माध्यम बनाइदिने लक्ष्यका साथ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा मकैको खोसेलाको विभिन्न सामग्री उत्पादन गर्ने सीप विकास तालिम सुरु गरेको हो ।
स्थानीय ३० महिला सहभागी तालिम बिहिबार हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले उद्घाटन गरेकी हुन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोला लगायतका सामग्री उत्पादन गर्ने तालिम सञ्चालन गरेको नगरपालिकाले धितुङमा सोही प्रकृतिको तालिम आयोजना गरेको हो ।
स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत खोस्टाबाट घरायसी सामग्री उत्पादन सम्वन्धी तालिम आयोजना गरिएको उपप्रमुख राईले बताइन् ।
मकै खोसेलेपछि गाईवस्तुलाई खुवाउनमा उपयोग भइरहेको खोस्टाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा विक्री वितरण गर्दै आम्दानीको दिगो श्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले सीप विकास तालिम आयोजना गरेको जनाएको छ । खोसेलाको सामग्री उत्पादन सम्वन्धी च्यास्मीटारमा आयोजित तालिममा सिप सिकेकी सुजिना राईलाई धितुङमा प्रशिक्षककोरुपमा उपयोग गरिएको छ ।
त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोकारुपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्वन्धित तालिम आयोजना गरिएको हो ।