खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा निर्माण गरिएको कम्पोष्ट मल र वायोग्याँस प्लान्ट उद्घाटन गरिएको छ । अर्गानिक नगर बनाउने अभियानलाई सफल पार्नका लागि नगरपालिकाले अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब चार करोडको खर्चमा निर्माण गरिएको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोतकेन्द्र शनिबार प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब वर्ष दिनमै एकैठाउँमा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट सहितको संरचना निर्माणको काम पुरा गरेको हो ।
बिशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।
आवधिक योजनामा उल्लेख भए अनुसार नगरपालिकालाई अर्गानिक नगरपालिका बनाउने र कृषिका माध्यमबाट आत्मनिर्भर बनाउने योजना सफल पार्न कम्पोष्ट तथा वायोग्याँस प्लान्ट निर्माण गरिएको हो ।
वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रति घण्टा एक हजार केजी कम्पोष्ट मल उत्पादन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
बजारबाट निस्किएको फोहोरमैला र सेफ्टी ट्यांकीमा भरिएर रहेको दिसालाई प्रयोग गरेर मल उत्पादन गर्दै आम्दानीको माध्यम बनाउने वातावरण बनेको नगरपालिकाका उपप्रमुख बिणादेबी राईले बताईन् । कम्पोष्ट मल तथा ग्याँस प्लान्टका लागि स्थानीय एवं नगर कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्माले २ रोपनी जग्गा निशुःल्क उपलव्ध गराएका छन् । कम्पोष्ट मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको छ ।
उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाईमा डिलरमार्फत विक्री वितरण गर्ने व्यवस्था मिलाइने बिश्वकर्माले बताए । कम्पोष्ट मल प्लान्टसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । दिक्तेलबजारका शौचालयको ट्यांकीमा रहेका दिसापिसावलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी रहेको नगरपालिकाका कार्यकारी अधिकृत टेकनाथ दाहालले जानकारी दिए ।
कम्पोष्ट मल र वायोग्याँस प्लान्ट उद्घाटनकाक्रममा मूख्यमन्त्री राई, प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राई, प्रदेशसभा सांसद राजन राई, पूर्वसभाषद पिके राई, जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राई, नेकपा एमालेका उपसचिव कुमार आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाशकुमार श्रेष्ठ, जनता समाजवादी पार्टीका धनिराम नछुङ, खोटाङ उद्योग वाणिज्य संका अध्यक्ष उपिनकुमार राई लगायतले कम्पोष्ट मल प्लान्टको उपयोगीताका बारेमा चर्चा गरेका थिए ।