खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले फलफुल किसान पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफुल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी लिनसक्ने अवस्थामा पुर्याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तरगत किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।
फलफुललाई किसानको पेन्सनका रुपमा आम्दानीको श्रोत बनाउने लक्ष्यका साथ गाउँपालिकाले चालु आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको छ ।
किसानलाई नगदे बाली मानिने फलफुल खेतीतर्फ आकर्षित गर्नका लागि फलफुल खेतीलाई भविष्यको पेन्सनको नारा दिइएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए ।
६ वडा रहेको गाउँपालिकामा फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तरगत किसान पेन्सन कार्यक्रमका लागि चालु आर्थिक वर्ष ५ लाख बजेट बिनियोजन गरिएको छ ।
विगतका वर्ष लिची, आँप र सुन्तला खेती प्रवर्धनका लागि वजेट खर्च गरेको गाउँपालिकाले चालु आर्थिक वर्ष भने किसान पेन्सनको नाम लिएर एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको हो ।
चक्लावन्दीमा मिलेर फलफुल बगैंचा स्थापना गर्न चाहने समुह वा कृषकहरुलाई बिरुवा वितरणमा पहिलो प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।