खोटाङ । खोटाङको दिक्तेलबाट बुइपा पुग्ने दोश्रो तथा छोटो सडकमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कबाट बाम्राङ–डल्लेदोभान–दम्कु हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा पुग्ने दोश्रो तथा छोटो बाटोमा वस सेवा सुरु गरिएको हो ।
आइतबार रत्नपार्कमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले रिवन काटेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा–गाईघाट बस उद्घाटन गरेका छन् ।
हालसम्म दिक्तेलबाट नुनथला–महुरे–बुईपा हुँदै उदयपुरको गाईघाट आवत–जावत गर्ने गरिएकामा अव दिक्तेलबाट सिधै बाम्राङ हुँदै बुईपा पुगेर गाईघाट पुग्न सकिने वातावरण बनेको छ । बाम्राङ र बुईपाका स्थानीयको मागका आधारमा यातायात व्यवसायीसँग सहकार्य गरेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा बस सेवा सुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए ।
बाम्राङ र बुईपातर्फबाट सडक जोडिएको केही समयपछि रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा बस हिँडाइएको हो । नगरपालिकाको सहयोगमा जेसिभि लगाएर सडकको चौडाई बढाएर सवारी साधन सञ्चालनमा ल्याइएको हो । रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा पहिलोपल्ट बस तथा जीप गुड्दा स्थानीय हर्षित बनेका छन् ।

दिक्तेलको रत्नपार्कबाट दैनिक दिउँसो ४ वजे बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा हुंदै गाईघाटका लागि बस छुटाउने तयारी गरेको यातायात व्यवसायीले बताएका छन् । दिक्तेलबाट नुनथला–महुरे हुँदै बुईपा पुग्नुभन्दा दिक्तेलबाट बाम्राङ हुँदै बुईपा पुग्नु छोटो दुरी पर्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
हालसम्म दिक्तेलबाट नुनथला–महुरे हुँदै हलेसी तुवाचुङ नगरपालिकाको विजुले पुग्ने गरिएकामा दिक्तेलबाट बाम्राङ–बुईपा हुँदै विजुले पुग्ने दोश्रो बाटो पनि खुलेको छ ।
तत्कालिन संविधानसभा सदस्य पाँचकर्ण राईले आफ्नो निर्वाचन क्षेत्रमा छान्नुपर्ने एक मात्र सडक योजनाका रुपमा रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक निर्माण योजनालाई छानेका थिए । यद्यपि, ठेकेदारको लापरवाहीका कारण सडकको काम पुरा नहुँदै विचैमा अलपत्र परेको थियो ।
आगामी दिनमा दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक स्तरोन्नतीका लागि विभिन्न निकाय समक्ष पहल गर्ने नगरप्रमुख रिजालले प्रतिवद्धता जनाएका छन् ।
यस्तै, दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक खण्डमा पर्ने डल्लेदोभानमा मोटरेबल पुल निर्माणका लागि नगरपालिकाले डिपिआर तयार पारिसकेको जनाएको छ ।
‘यही सडकमा पर्ने डल्लेखोलामा पुल बनाउनका लागि डिपिआर तयार पारिसकिएको छ,’ नगरप्रमुख रिजालले भने, ‘३ करोड ८८ लाखन्दा बढिको लागत स्टीमेट आएको छ । सम्भवतः आगामी आर्थिक वर्ष मोटरेवल पुलको टेण्डर हुनेछ ।’ वस उद्घाटनपछि कार्यक्रमका अतिथि, आयोजक तथा स्थानीय लगायतलाई दुई वटा बस तथा जीपमा रत्नपार्कदेखि बुईपा आवत–जावत गराइएकोे थियो ।