आगलागी पीडित फर्निचर उद्यमीलाई राहत प्रदान 

आगलागी पीडित फर्निचर उद्यमीलाई राहत प्रदान 

रोदिक खबर

१३, बैशाख २०७८
  • 5.6K
    SHARES
  • आगलागी पीडित फर्निचर उद्यमीलाई राहत प्रदान 

    खोटाङ ।  उद्योग वाणिज्य संघ खोटाङले आगलागीबाट पीडित फर्निचर उद्यमीलाई राहत प्रदान गरेको छ । वाणिज्य संघले गत चैत ३१ गते बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षती बेहोरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित गणेश फर्निचर उद्योगका सञ्चालक हर्कराज राईलाई राहत स्वरुप एक लाख प्रदान गरेको हो ।

    वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आइतबार अग्नी पीडित राईलाई घरैमा पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन् । उद्योग वाणिज्य संघ सदस्य विपद व्यवस्थापन राहत कोषबाट अग्नी पीडित उद्यमीलाई राहत प्रदान गरिएको वाणिज्य संघले जनाएको छ । 

    वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, वरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशी, महासचिव मनोज वजिमय, सचिव तुङ्ग विश्वकर्मा, कोषाध्यक्ष युधिर शाक्य, सचिवालय सदस्य विजय श्रेष्ठ, होटल व्यवसायी संघका अध्यक्ष जेपी राई लगायतको टोलीले अग्नी पीडित उद्यमीलाई राहत हस्तान्तरण गरेका हुन् ।

    कोष खडा गरेर विपत्तीमा परेका आफ्ना सदस्यलाई राहत प्रदान गर्दै आएको वाणिज्य संघले क्षतीको मूल्यांकनको आधारमा आगलागी पीडित फर्निचर उद्यमीलाई राहत प्रदान गरेको जनाएको छ । फर्निचर उद्योगीलाई यसअघि सौन्दर्य कला व्यवसायी संघले १० हजार २० रुपैयाँ र दिक्तेलकै माटिकोरे टोलबासीले चन्दा उठाएर २५ हजार ६५० रुपैयाँ राहत प्रदान गरेका थिए । 

    आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

    आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको काठ, १२ वटा कुखुरा लगायत जलेर नष्ट भएको थियो । विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।  

    प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - १८:२९:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको