खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
कोभिड–१९ को दोश्रो लहरको संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।
मंगलबार सूचना जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल नगरी ‘जहाँ छौं त्यहीँ’ बस्न आग्रह गरेको छ । ‘कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि यस नगरपालिकाभन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउने, जहाँ छौँ त्यहीँ सुरक्षित बसौं,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘यदि आउनुपर्ने नै भए आउनुहुने नगरबासीले बाहिर हिँडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्नुहुन हार्दिक अनुरोध छ ।’