• ट्रेण्डिङ:

धमाधम हाटबजार बन्द गर्दै स्थानीय सरकार

धमाधम हाटबजार बन्द गर्दै स्थानीय सरकार

रोदिक खबर

१४, बैशाख २०७८
  • 3.8K
    SHARES
  • धमाधम हाटबजार बन्द गर्दै स्थानीय सरकार

    खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र साप्ताहिक रुपमा लाग्ने हाटबजार बन्द गराएको छ ।

     बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स.छितापोखरीस्थित पञ्चमीबजारमा हरेक सोमबार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा हरेक शनिबार लाग्ने साप्ताहिक हाटबजार बन्द गरिएको हो ।

    सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि साप्ताहिकरुपमा लाग्ने हाटबजार बन्द गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    गत वर्षको लकडाउनकाबेला खेर जाने अवस्थाका तरकारी दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खरिद गरेर राहतकारुपमा बाँडेको थियो । गत वर्षकैजस्तो अवस्था आएमा यसपल्ट पनि किसानको उत्पादनमा कुनै क्षती हुने काम हुन नदिने गाउँपालिका अध्यक्ष राईले बताए ।

    यस्तै,केपिलासगढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र साप्ताहिक रुपमा लाग्ने तीन वटा हाटबजार बन्द गराएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख ८ गते र बैसाख १३ गतेको निर्णय अनुसार केपिलासगढी गाउँपालिकाले अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द गराएको हो ।

    गाउँपालिकाका उपाध्यक्ष हिरादेबी वनले सोमबार जारी गरेको सूचनामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा लाग्ने बुधबारे, केपिलासगढी गाउँपालिका–१ फेदी र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा लाग्ने शुक्रबारे र शनिबारे हाट बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । 

    यस्तै, कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्नका लागि गाउँपालिकाले भेला भएर गरिने सभा, सम्मेलन, गोष्ठी, सेमिनार, उद्घाटन, शिलान्यास, चियापान जस्ता राजनैतिक तथा अन्य क्रियाकलाप नगर्न/नगराउन भनेको छ ।

    गाउँपालिकाले कार्यालय र पसलजस्ता सार्वजनिक स्थलमा अनिवार्य सेनिटाइजर र मास्कको प्रयोग गर्न/गराउन, कुनै व्यक्ति मास्क नलगाइ आएमा व्यवस्थापकले बढिमा १० रुपैयाँ लिएर मास्क उपलव्ध गराउन भनेको छ ।

    प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १६:२७:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको