खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाको चौथो वार्षिक उत्सव मनाइएको छ । वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत, चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थी, उत्कृष्ट कृषक समुह, उत्कृष्ट कृषक, उत्कृष्ट उपभोक्ता समितिलाई पुरस्कृत एवं पुर्वगाबिस अध्यक्षलाई सम्मान गर्दै गाउँपालिकाको चौथो वार्षिक उत्सव मनाइएको हो ।
बुधबार आयोजित चौथो वार्षिक उत्सवमा गाउँपालिका अध्यक्ष प्रदीप राईले गाउँपालिकाको वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका छन् ।
खोटेहाङ गाउँपालिकाको वार्षिक उत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र शिक्षक गरी तीन जनालाई पुरस्कृत गरिएको छ । ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मनस राई र गाउँपालिकाका महिला विकास शाखा प्रमुख सिर्जना भट्टराईलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, सिद्ध आधारभुत विद्यालय खोटाङबजारका शिक्षक पर्शुराम ढकालले उत्कृष्ट शिक्षकको पुरस्कार प्राप्त गरेका छन् । गाउँपालिकाभित्रका कर्मचारी र शिक्षकमध्येबाट उत्कृष्ट ठहरिएका राई, भट्टराई र ढकाललाई जनही ११ हजार १११ रुपैयाँका साथमा सम्मान–पत्रप्रदान गरिएको छ ।
यस्तै, गाउँपालिकाले २०७६ सालको एसइई परिक्षामा सर्वोत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने तीन छात्र÷छात्रालाई पुरस्कार प्रदान गरेको छ ।
३.७७ जिपिए ल्याएर एसइई उत्तिर्ण गर्ने कृष्ण माबि बर्रेका गोपाल थापा, ३.७७ जिपिए ल्याएर एसइई उत्तिर्ण गर्ने सोही विद्यालयका अस्मिता थापा र ३.७५ जिपिए ल्याएर उत्तिर्ण हुने सावाकाली माबिका सागर मगरलाई पुरस्कृत गरिएको हो । विद्यार्थीको प्रोत्साहन स्वरुप उत्कृष्ट विद्यार्थीलाई जनही ६ हजार ७७५ रुपैयाँका साथमा कदरपत्र प्रदान गरिएको छ ।
यस्तै, सामुहिक पशु पालनतर्फ उत्कृष्ट कृषक समुहको पुरस्कार खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका साकेवा बाख्रा पालन कृषक समुहलाई र कृषितर्फको उत्कृष्ट कृषक समुहको पुरस्कार बर्रे प्रगतीशिल कृषक समुहलाई प्रदान गरिएको छ । व्यक्तीगत पशु पालनतर्फ खोटेहाङ गाउँपालिका–८ सिमपानीका रामकुमार पोखरेललाई र कृषितर्फ खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका ईन्द्रकुमार राई (इन्द्र नारथुंगे)लाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७६ मा सञ्चालित योजनामध्ये प्रमोद राई अध्यक्ष रहेको उपभोक्ता समिति उत्कृष्ट घोषित भएको गाउँपालिकाले जनाएको छ । उत्कृष्ट कृषक समुह, उत्कृष्ट कृषक तथा उत्कृष्ट उपभोक्ता समितिलाई जनही ११ हजार १११ रुपैयाँका साथमा सम्मानपत्र प्रदान गरिएको छ ।
उत्कृष्ट कर्मचारी, शिक्षक तथा विद्यार्थी, कृषक समुह, कृषक र उपभोक्ता समितिलाई एमालेका प्रमुख सचेतक एबं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
खोटेहाङ गाउँपालिकाले बहुदलीय व्यवस्था आएपछि गाबिस अध्यक्षमा निर्वाचित भएका १० जना पुर्वगाबिस अध्यक्षलाई सम्मान गरेको छ । २०४९ सालदेखि २०५४ साल र २०५४ सालदेखि ५९ सालसम्म अध्यक्ष बनेका र हालसम्म जिवित रहेका पूर्वगाविस अध्यक्षलाई वार्षिकोत्सवको अवशरमा सम्मान गरेको हो ।
गाउँपालिकाले २०४९ सालदेखि २०५४ साल र २०५४ सालदेखि ५९ सालसम्म खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको अध्यक्ष बनेका रञ्जनकुमार राई, २०४९ सालदेखि २०५४ सालसम्म खोटेहाङ गाउँपालिका–३ सावाकटहरेको अध्यक्ष बनेका भरत पोखरेल र २०५४ सालदेखि २०५९ सालसम्म अध्यक्ष सम्हालेका मिनराज कोईरालालाई सम्मान गरिएको हो ।
यस्तै, २०५४ सालदेखि २०५९ सालसम्म खोटेहाङ गाउँपालिका–५ चिप्रिङको अध्यक्ष बनेका मानबहादुर राई, २०४९ सालदेखि २०५४ सालसम्म खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका अध्यक्ष बनेका छत्रबहादुर राई, २०४९ सालदेखि २०५४ सालसम्म खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको अध्यक्ष सम्हालेका कमल फुयाल र २०५४ सालदेखि २०५९ सालसम्म अध्यक्ष रहेका जगत बञ्जरा सम्मानित भएका छन् ।
२०४९ सालदेखि २०५४ सालसम्म खोटेहाङ गाउँपालिका–८ सिमपानीका अध्यक्ष बनेका जगतबहादुर खड्का र २०५४ सालदेखि २०५९ सालसम्म अध्यक्ष बनेका दिपबहादुर थापा, २०५४ सालदेखि २०५९ सालसम्म खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका अध्यक्ष बनेका अर्जुन गैरापिप्लीलाई सम्मान गरिएको छ । पुर्वगाबिस अध्यक्षलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदा गरिएको छ ।
कार्यक्रममा खोटाङ भगवती दिनानाथ माबिका प्रअ कुमार पराजुली, एमाले जिल्ला कमिटि सचिवालय सदस्य राजन बञ्जरा, माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य उदमबहादुर राई, एमाले खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चका उपाध्यक्ष रबिन्द्र ओझा, एमालेका पालिका स्तरिय नेता राजन ढकाल, कांग्रेसका प्रेम थापा, माओबादी केन्द्रका इन्द्र नारथुंगे लगायतको उपस्थिति रहेको थियो ।