खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को दोश्रो लहरको संक्रमण नगरभित्र पनि बढ्न सक्ने संम्भावना देखिएको भन्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरेको हो।
बिहीबार नगरप्रमुख दिपनारायण रिजालले विज्ञप्ति जारी गर्दै भोली (शुक्रवार) देखि अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक सेवाहरु मात्र खुला गरी अन्य सबै किसिमका सेवा तथा व्यवसायहरु अर्को सूचना जारी नभएसम्म बन्द गर्न आग्रह गरेका छन्।
अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेक नगरभित्रका सम्पूर्ण सरकारी, गैर सरकारी, संस्थागत बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्न, नगरपालिकाभित्र अन्य क्षेत्रहरु र शहरहरुबाट आउनेले १५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने, उल्लंघन गरेमा नगरपालिकाको संस्थागत क्वारेन्टिनमा लगेर १५ दिन राखिने विज्ञप्तिमा उल्लेख छ।
नगरभित्रका हाट बजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजाहरु लगायत भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्न, अत्यावश्यक सामग्री बोकेका बाहेक सबैै खाले यातायातका साधनहरु बन्द गर्न, विवाह, व्रतवन्ध, काजक्रिया लगायत अन्य सामाजिक तथा सांस्कृतिक कार्यहरु संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाई १५ जना भन्दा कम सहभागी भई गर्न र अत्यावश्यक सेवा लागि वाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाई उच्च स्वास्थ्य सतर्कताका साथ बाहिर निस्कन विज्ञप्तिमा भनिएको छ। उक्त कार्यहरु उल्लंघन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने नगरप्रमुख रिजालले बताए।