खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका धार्मिक तथा पर्यटकीय स्थल आसपासका व्यवसायी एवं इच्छुक स्थानीयलाई होमस्टे (घर वास) तालिम दिइएको छ ।
स्थानीय स्तरमा स्वरोजगार अभिबृद्धि गर्दै पर्यटनको दिगो विकास गर्ने लक्ष्यका साथ नगरपालिकाभित्र पर्ने बुईपा–महुरे–नुनथला–हुर्लुङ–मुढे–तालखर्क–भुलभुले जोड्ने सडक आसपासका होटल व्यावसायी एवं इच्छुक स्थानीयलाई होमस्टे तालिम दिइएको हो ।
आफ्नो घर वा समुदायमा निजी वा सामुहिक रुपमा पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्दै आर्थिक आयआर्जनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा खोटाङ उद्योग बाणिज्य संघले नगरभित्रका ४० जनालाई सहभागी गराएर होमस्टे तालिम आयोजना गरेको हो ।
एक हप्ताका लागि आयोजना गरिएको तालिम कोभिड–१९ को महामारीका कारण दुई दिन अगाडि सकिएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए ।
‘संस्कार, संस्कृतिको प्रवद्र्धन, पर्यटक पाहुनाको सत्कारबाट आयआर्जन’ भन्ने नारा सहित मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलको मुढेमा आयोजना गरिएको होमस्टे तालिम बैशाख १३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपामा निर्माणाधिन यलम्बर पार्क, महुरे, नुनथला, हुर्लुङ, रुपाकोट भ्यू टावर, मझुवागढी, पेनटावर, भुलभुले दुधकुण्ड देउधाम लगायतका पर्यटकीय स्थल आसपासमा होमस्टेको सम्भावनालाई ध्यान दिएर तालिमको आयोजना गरिएको बाणिज्य संघका अध्यक्ष राईले बताए ।
होमस्टे तालिममा नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्र आसपासका व्यवसायी एवं व्यवसाय गर्न इच्छुक स्थानीयको सहभागीता रहेको थियो ।