• ट्रेण्डिङ:

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय 

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय 

रोदिक खबर

२०, बैशाख २०७८
  • 4.9K
    SHARES
  • नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय 

    खोटाङ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

    दिनानुदिन कोभिड–१९ को संक्रमण दर तीव्र गतिमा बढिरहेको सन्दर्भमा नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण नगस्तरीय समन्वय समितिका संयोजक एवं नगरप्रमुख इवन राईको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले नगरभित्रका स्वास्थ्य संस्था, औषधि पसल र खाद्यान्न पसल बाहेक अन्य सरकारी तथा गैर–सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा तथा पसल आगामी बैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

    सर्वदलीय बैठकको निर्णय मंगलबारदेखि लागू हुने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । सर्वदलीय बैठकले नगरभित्रका खाद्यान्न पसल भने स्वास्थ्यका मापदण्ड पालना गरेर दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्ने, महामारीका बेला कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्ने र कालोबजारी गरेको पाइएमा नियमानुशार कारबाही गर्ने निर्णय गरेको छ । 

    सचेतनामुलक अभियानमा दलका भातृ संगठन पनि परिचालित हुने 

     नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षको नेतृत्वमा सम्वन्धित वडाका सम्पूर्ण शिक्षकलाई परिचालन गर्दै बाहिरी जिल्लाबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, कोभिड–१९ बाट बच्ने उपायका बारेमा स्वास्थ्य शिक्षा दिने र उनीहरुलाई होम क्वारेन्टिनमा बस्न लगाउने निर्णय गरिएको छ ।

    कोभिड–१९ बाट बच्ने र बचाउने सन्दर्भमा सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गराउँदै वडा–वडामा सचेतनामुलक गतिविधि सञ्चालन गर्न सम्पूर्ण राजनैतिक दलले आ–आफ्नो भातृ तथा शुभेच्छुक संगठनलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख राईले बताए । 

    बैठकले कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले गत बैशाख १५ गते पठाएको पत्रको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेसका चक्रकुमार राई, माओवादी केन्द्रका आमोद राई, जसपाका मविन्द्र राई, राप्रपाका पेशल बस्नेत लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - १६:५६:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको