खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले पालिकाभित्रको आवागमन ठप्प बनाएको छ । गत बैशाख २२ गतेको विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार गाउँपालिकाले शनिबार बिहानदेखि लकडाउनकै शैलीमा यातायातका सवारी साधन ठप्प बनाएको हो ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप बैशाख मसान्तसम्मका लागि सवारी साधन वा पैदल यात्रामार्फत गाउँपालिका भित्रिन र बाहिरिन रोक लगाइएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
ऐसेलुखर्क गाउँपालिकाले बैशाख मसान्तसम्मका लागि गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी कार्यालय, वित्तिय संघसंस्था तथा अन्य सामाजिक संघ–संस्थाको अतिआवश्यक बाहेकका सम्पूर्ण कामकाज बन्द गरेको जनाएको छ ।
यसबिचमा गाउँपालिकाभन्दा बाहिरबाट विशेष परिस्थितिमा आएका व्यक्तिलाई अनिवार्य १४ दिन होम आइसोलेसनमा राख्ने, होम आइसोलेसनमा बसे÷नबसेको निगरानी सम्वन्धित वडाका स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयबासीले गर्ने तथा होम आइसोलेसन उल्लंघन गरेको पाइएमा प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर संक्रामक रोगको ऐन अनुसार कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि गाउँपालिकाको कोभिड–१९ कोष शिर्षकबाट भुक्तानी दिने, विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन–पाठन बन्द गर्ने र बैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
पठन–पाठन रोकिएको समयमा विद्यालयमा शिक्षक अनुपस्थित भएमा नियमानुसार गयल कट्टी गरी तलव भत्ता कट्टा गर्न गाउँपालिका समक्ष सिफारिस गर्न, गाउँपालिकाभित्र विवाह, व्रतबन्ध, पास्नी लगायतका भेला भएर गरिने सामाजिक, धार्मिक तथा अन्य कार्यक्रम सामाजिक दुरी कायम गरी सञ्चालन गर्न निर्देशन दिइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।