खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई पालिका प्रवेश गर्ने यात्रु बोकेको सवारी साधन नियन्त्रणमा लिएको छ । गत बैशाख २२ गतेको निर्णय विपरित काठ्माण्डौंबाट मंगलबार पिसिआर परीक्षण गरेको रिपोर्ट नभएका आठ जना स्थानीयलाई बोकेर गाउँपालिका प्रवेश गरेको बा १३ च ५३८५ नम्बरको निजी गाडीलाई नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाभन्दा बाहिरबाट पालिका प्रवेश गर्ने स्थानीयलाई ७२ घण्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट बुझाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको भए पनि पिसिआर चेक नगरेका स्थानीयलाई लिएर आएकाले गाडी नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
गाउँपालिकाले गाडीको ब्लु–बुक र चाँबी नियन्त्रणमा लिएको छ । यस्तै, पिसिआर परीक्षण नगरी पालिका प्रवेश गर्ने स्थानीयलाई १० दिन अनिवार्य होमक्वारेन्टिममा बस्ने शर्तमा घर पठाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।
कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको बैशाख २२ गते बसेको बैठकले कोभिड–१९ को महामारीको अवधिमा पालिका वा जिल्ला बाहिरबाट आउने जो सुकैलाई अनिवार्य ७२ घण्टाभित्रको पिसिआर परिक्षण गरेको रिपोर्ट पेश गरेपछि मात्र पालिका प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको थियो ।
यस्तै, पिसिआर परिक्षण गरेको रिपोर्ट पेश गरेर पालिकाभित्र प्रवेश गर्ने व्यक्तिले थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।