खोटाङ । खोटाङको ऐसेलुखर्कका गाउँपालिकाका एकै परिवारका तीन संक्रमित हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं गएका छन् । तीन संक्रमितमध्ये एक पुरुषलाई प्रेसरको समस्या समेत देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कले रेफर गरे लगत्तै उनीहरु महंगो भाडा तिरेर बुधबार काठ्माण्डौं गएका हुन् ।
थप उपचारका लागि ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर संक्रमित काठ्माण्डौं गएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।
उनीहरुलाई गत बैशाख ३१ गते कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका सोही परिवारका ७८ वर्षीय बृद्धको भने जेठ १ गते निधन भएको थियो । ‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै थियो । पुरुषलाईचैं प्रेसरको समस्या पनि देखिए छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘अस्पताल जाने नै भएपछि सबैजना जाने सल्लाह अनुसार गएका हुन् । संक्रमितलाई बोक्ने हेलीकोप्टर पाउन भने सहज रहेनछ ।’
ऐसेलुखर्क गाउँपालिकामा हालसम्म ३१ जनाको एन्टीजेन परिक्षण गर्दा १६ जनालाई संक्रमण पुष्टि भइसकेको सिनियर अहेव निर्मला शर्माले जानकारी दिइन् । सिनियर अहेव शर्माका अनुसार संक्रमितसँगको सम्पर्कमा पुगेका ८१ जनाको पिसिआर परीक्षणका लागि बुधबार नमूना संकलन गरेर काठ्माण्डौं पठाइएको छ ।