खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।
बिहिबार सडकबाट पल्टिएको ट्याक्टर करिब ३० मिटर तल खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए ।
दुर्घट्नामा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते र २९ वर्षीय धनबहादुर सुनुवार मध्यम घाईते भएका छन् । घाईतेलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठ्माण्डौं रेफर गरिएको छ । घट्नास्थल मुचुल्काको काम पुरा गरेर शव जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।