काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय भएको छ ।
सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । ‘अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’ विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।