• ट्रेण्डिङ:

कोरोनाको सामना ‘हटेर होईन डटेर’

कोरोनाको सामना ‘हटेर होईन डटेर’

रोदिक खबर

१४, जेठ २०७८
  • 7.5K
    SHARES
  • कोरोनाको सामना ‘हटेर होईन डटेर’

    खोटाङ । भनिन्छ, जीवन यात्रा हो । मानिसको जीवनलाई त्यही यात्रा मानेर हेर्ने हो भने घरदेखि घाटसम्मको दूरीको यात्रा हो । यसरी हेर्दा जीवन कति छोटो जस्तो, आजै हिंडेर अर्थात् एकै दिन, एकैछिनमा पनि पुगिने जस्तो । जीवनको सरलरेखा छ ।

    हामी पो कसरी हिंड्छौं ? सफलता–असफलता, जस–अपजस, सुख–दुःख, आँशु–हाँसो शायद यसैमा निर्भर होला । तर, के जन्मदेखि मृत्युसम्मको यात्रा यति सरल र सहज छ ? के जीवनलाई मानिसले यति सजिलो हिसाबले बिताइरहेका छन् त ? त्यस्तो लाग्दैन । यसमा व्यक्ति स्वयंले जीवन जटिल बनाइरहेको छ ।

    मानिसले मानिसको जीवनमा जटिलता सिर्जना गरिदिएका छन् । पछिल्लो एक वर्षयता भने कोरोना भाइरसले जीवनमा जटिलता थपिदिएको छ र वर्तमान र भविष्य अनिश्चित बनाएको छ । 

    सिंगो विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ । यही दरमा संक्रमण फैलिरहने हो भने कुनै न कुनै दिन सबै जना कोभिड–१९ को मारमा पर्ने निश्चित प्रायः छ । त्यसमाथि ‘संक्रमितको घर जानु हुन्न, संक्रमितको नजिक जान हुन्न, भेटेर बोल्न हुन्न’ भन्ने त्रास पनि छ ।

    हाल संक्रमितले थलिएको अवस्थामा छरछिमेकको साथ पाउने अवस्था छैन, मृत्यु भएमा अहिले कसैले मलामी पाउनेवाला छैन । संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव दाहसंस्कारका क्रममा नेपाली सेनालाई अघि सार्ने गरिएको छ । एकातिर कोभिड–१९ ले ज्यान लिने मनोवैज्ञानिक त्रासमा बसिरहेका संक्रमित वा उसका परिवार छरछिमेकको साथ नपाउँदा थप हतोत्साहित बन्ने अवस्था छ । 

    खोटाङकै विभिन्न स्थानमा संक्रमण पुष्टि भएका घरमा आफन्त जान त्रास मानिरहेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संक्रमितको नजिक गएर सान्त्वना दिने, रोगसँग जुध्नका लागि ढाडस दिने वा स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै मनोबल उच्च बनाउने खालका परामर्श दिने व्यक्तिको अभाव छ ।

    के सबै मानवको साझा समस्याका रुपमा देखा परेको कोभिड–१९ को संक्रमणबाट सँधै यसरी भागेर बाँच्न र बचाउन सम्भव छ ? ‘अव सँधै यसरी पछि हटेर महामारीको सामना गर्न सम्भव छैन । सबै जना डराएपछि संक्रमितलाई कसले सहयोग गर्ने ? आफु संक्रमित भएको अवस्थामा कसले सहयोग गर्छ ?,’

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठ भन्छन्, ‘कुनै न कुनै दिन सबैलाई संक्रमण हुने अवस्था आउन सक्छ । त्यसका लागि हटेर होईन डटेर अघि बढौं । सामाजिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सबैलाई सहयोग गर्नुको विकल्प छैन ।’ 

    केही समयअघि दिक्तेलमा एक संक्रमितको मृत्यु हुँदा शव उठाउन चुनौती निम्तियो । दाजुभाईले दाहसंस्कार गर्ने वा नेपाली सेनालाई जिम्मा दिने भन्ने विषयमा लामै छलफल चल्यो । अन्ततः त्रासको त्यो घडीमा वडा सदस्य श्रेष्ठकै अगुवाईमा नेपाली सेनाको सहयोगमा शव दाहसंस्कारमा लगियो ।

    नेपाली सेनाबाट शव घाटमा लैजाने र सलामी दिने बाहेकका अधिकांश संस्कारजन्य काम आफैले गर्नु परेको श्रेष्ठ बताउँछन् । ‘मिलीटरी पनि तीन जना मात्र खटिने व्यवस्था रहेछ । त्यो पनि सलाम हानेर फर्कियो ।

    टोलीमा जेठो म नै थिएँ । साथमा गएका भाईहरुलाई नडराउ भनेर सम्झाएँ र दाससंस्कार गर्ने काम गरियो,’ वडा सदस्य श्रेष्ठले भने, ‘कोरोनाले एक दिन सबैलाई भ्याइहाल्छ । भ्याउने भएपछि किन डराउने ! तपाई पनि डराउने, म पनि डराउने, अर्को पनि डराउने, सारा डराउने भएपछि कसले कसलाई सहयोग गर्ने टुंगो भएन नि !

    त्यही भएर सुरक्षित तरिकाले साथ सहयोग लिने र दिने वातावरण बनाउन आवश्यक छ ।’ दाहसंस्कारपछि फर्किएका वडा सदस्य श्रेष्ठले गत जेठ ८ गतेका दिन सामाजिक सञ्जालमा ‘कोरोनासँग हटेर होईन डटेर अगाडी बढौं, सामाजिक दूरी कायम राखी सवैलाई सहायोग गरौं’ लेखेका थिए । 

    हाल कोभिड–१९ को संक्रमण गाउँ–गाउँमा फैलिसकेको छ । यसबीचमा वडा कार्यालयकातर्फबाट संक्रमितलाई मास्क र सेनीटाइजर वितरणका क्रममा पनि वडा सदस्य श्रेष्ठ अघि सरे । प्रत्येक संक्रमितका घरमा पुगे, संक्रमित र उसका परिवारसँग स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर भेटघाट गरे ।

    गत जेठ १० गते मात्र दिक्तेलबजारकै एक संक्रमितलाई जिल्ला अस्पतालले थप उपचारका लागि काठ्माण्डौं रेफर गर्‍यो । अस्पतालबाट हेलीकोप्टर ल्याण्ड भएको ठाउँसम्म बिरामी बोक्नका लागि पनि कतिपय स्थानीय त्रास माने । त्यो अवस्थामा वडासदस्य श्रेष्ठ पिपिइ सेट पहिरिएर बिरामी बोक्न अघि सरे ।

    ‘म एक जना मर्दा दश जनाको उद्धार हुन्छ भने म चैं तयार छु भनेर अघि सरेँ । कसैलाई संक्रमण भयो भने आफुलाई पनि समस्या पर्छ भनेर भागेर सम्भव हुन्न । मेरो घरमा परो, अर्कोको घरमा परो भनेर भाग्न हुन्न । हामी भागेर जोगिन्छौं भन्ने अवस्था देखिन्न । लाग्नेलाई लाग्दै गर्छ, उपचार गर्दै जानुपर्छ भन्ने हो,’ श्रेष्ठले भने, ‘यसरी संक्रमितको उद्धारमा खट्दा आफैलाई संक्रमण भयो की भन्ने त्रास त थियो । तर, पिसिआर चेक गर्दा बिहिबार नेगेटिभ रिपोर्ट आयो । यसले झनै हौसला मिलेको छ ।’ 

    संक्रमण भएको अवस्थामा अथवा संक्रमणका कारण कसैको मृत्यु भएको अवस्थामा दाजुभाई, छरछिमेक र इष्टमित्रबाट मनोवल उच्च बनाइदिने भूमीका निर्वाह गर्नुपर्ने वडा सदस्य श्रेष्ठको धारणा छ । ‘सुरक्षाका मापदण्ड अपनाएर संक्रमित परिवारको नजिक जाने, के कस्तो छ भनेर सोध्न सक्नु पर्छ ।

    नजिक कोही नजाने हो भने संक्रमितको हालत कस्तो होला, मनोवल कस्तो होला,’ उनले भने, ‘त्यही भएर डराउनु भएन । संक्रमितको घरमा नछिर्ने, हेला गर्ने, मनोवल गिराइदिने काम कोहीबाट हुनुहुन्न ।’ 

    प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०६:२४:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको