खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ बाट संक्रमितको भेटघाटमा जुटेका छन् । संक्रमण पूष्टि भएपछि होमआइसोलेसनमा बसिरहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, आवश्यक परामर्श प्रदान गर्न र सान्त्वना दिनका लागि गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, अस्थायी कोभिड अस्पतालका डाक्टर प्रमोदकुमार यादव, सुरक्षाकर्मी लगायतको टोली भेटघाटमा जुटेका हुन् ।
जनप्रतिनिधि सहितको टोली खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–८ सिमपानी, खोटेहाङ गाउँपालिका– ५ चिप्रिङ लगायतका वडाका संक्रमितलाई प्रत्यक्षरुपमा भेटिसकेका छन् ।
भेटघाटका क्रममा संक्रमितको श्वास प्रश्वासमा समस्या भए वा स्वास्थ्यमा जटिल समस्या देखिएको अवस्थामा उपचारमा पठाउने व्यवस्था मिलाउने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
कतिपयलाई एम्बूलेन्समा हालेर अस्थायी कोभिड अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा पठाउने गरिएको छ । खोटेहाङ गाउँपालिकामा स्वास्थ्यसंस्थामा पुगेर एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य संस्थामा जान नसक्ने बिरामीको परीक्षणका लागि भने स्वास्थ्यकर्मीलाई घरैमा पठाउने गरिएको गाउँपालिकाले जनाएको छ । ‘संक्रमण पुष्टि भएपछि हामी संक्रमितको भेटघाटमा घर घरमै पुग्ने कोसिस गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘भेटघाटका क्रममा संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, आवश्यक सरसल्लाह दिने गरेका छौँ ।’
नौ वटा वडा रहेको खोटेहाङ गाउँपालिकामा ४६ जना सक्रिय संक्रमित रहेका छन् भने ९ जना निको भइसकेको गाउँपालिका अध्यक्ष राईले बताए ।