शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दिक्तेल–आहाले सडक : कालोपत्रेको काम नहुँदै ढल जीर्ण 

दिक्तेल–आहाले सडक : कालोपत्रेको काम नहुँदै ढल जीर्ण 

रोदिक खबर

२९, जेठ २०७८
  • 6.6K
    SHARES
  • दिक्तेल–आहाले सडक : कालोपत्रेको काम नहुँदै ढल जीर्ण 

    खोटाङ ।  खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम सम्पन्न नहुँदै ढल फुटेको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्डको डिबिएसटी कालोपत्रेको काम सम्पन्न नहुँदै सडकको कुनामा बनाइएको ढल चर्किएर जीर्ण बनेको हो । सो सडकको कालोपत्रेको काम नहुँदै विभिन्न खण्डका ढल क्षतविक्षत भएपछि स्थानीयले गुणस्तरमाथि आशंका गरिरहेका छन् ।

    ढल निर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले ढुंगा ठाडो पारेर पर्खाल लगाएका कारण ढल क्षतविक्षत बन्न पुगेको बताइएको छ । निर्माण कम्पनीको अघिल्लो प्रतिनिधिले ढल निर्माणका क्रममा गुणस्तरहिन ढुंगा प्रयोग गराएका कारण ढल जीर्ण बन्न पुगेको निर्माण कम्पनीका हालका प्रतिनिधि खगेन्द्र राईले बताए । उनले चर्केको र फुटेको ढल पुःननिर्माण गरिने बताएका छन् । 

    दिक्तेल–आहाले सडक कालोपत्रेको म्याद सकिएको १० दिनपछि दिक्तेलबजारको अस्पतालचोकबाट जेठ ९ गतेदेखि आरसिसि ढलान सुरु गरिएको छ । दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको प्रथम पटक थप भएको म्याद गत  बैशाख २९ गते सकिएको थियो ।

    निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ साल चैत ७ गतेसम्मको सम्झौता म्याद गुजारेपछि गत बैसाख २९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो ।

    दिक्तेलबजारको हाटडाँडाका केशव बस्नेतको घरसम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गरिने निर्माण कम्पनीका प्रतिनिधि राईले बताए । थप भएको म्याद सकिँदा पनि सडक कालोपत्रेको कामको भौतिक तथा वित्तीय प्रगती करिब ५० प्रतिशत पुगेको बताइएको छ । 

    दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाइघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएको थियो । निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसि, साईड ड्रेन, ग्राभेल सहित ६.२५ मिटर चौंडा हुने सडकको ३.७५ भागमा पिच गर्नेगरी कालोपत्रेको ठेक्का लिएको हो ।

    १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको कालोपत्रेको काम २०७५ साल मंसिर १ गते प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले शिलान्यास गरेका थिए । सुरुका दिनमा तीव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ । 

    दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहिन भएको पाइएपछि स्वयं राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङले २०७६ सालमा केही समय कालोपत्रेका काम रोकेको थियो ।

    कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीलाई गुणस्तरहिन काम रोक्नका लागि ६ दिनअघि मौखिकरुपमा जानकारी गराएको कार्यालयले २०७६ साल पुस ९ गते लिखितरुपमा पत्राचार गरेर काम रोक्न लगाएको थियो ।

    माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालय ‘एक्सन’मा उत्रिएको थियो । त्यो बेला गुणस्तरहिन काम भएको पाइएपछि बालुवा, गिटी लगायतका ‘स्याम्पल’ नै उठाइएको थियो ।

    लगत्तै २०७६ साल पुस २३ गते प्रदेशसभा सांसद उषाकला राई (हाल सामाजिक विकास मन्त्री), प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ लगायतको टोली सडकको कामको स्थलगत अनुगमनमा गएका थिए । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई २०७६ साल कात्तिक ५ गते दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, सो बैठकमा चौंलागाईले गरेका प्रतिवद्धता अनुशार सडकको काममा प्रगती भएन । 

    दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले गत चैतमा प्रतिनिधि परिवर्तन गरेको हो । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले राईलाई प्रतिनिधि चयन गरेको हो ।

    याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका नासु एवं सूचना अधिकारी मणिराम ढकालले बताए । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पुराभएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ ।

    हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल–रेग्मीटार सडक पुर्वी तराई जानआउनका लागि बढि प्रयोगमा आउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले बताए । सडकले मनमायाँ राई खानीडाँडा बिमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट बिमानस्थल आवत–जावत गर्ने स्थानीय लाभान्बित हुने छन् । 

    प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १०:२५:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको