• ट्रेण्डिङ:

वडा विभाजनका लागि मतदान, अव टेम्मा टुक्रिने

वडा विभाजनका लागि मतदान, अव टेम्मा टुक्रिने

रोदिक खबर

२१, आषाढ २०७८
  • 11.3K
    SHARES
  • खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वडा विभाजनका लागि मतदान भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि गत असार १० गतेको गाउँसभामा पेश भएको प्रस्ताव अनुसार आइतबार मतदान भएको हो ।

    गाउँसभाको कुल सदस्य संख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा ३४ मत खसेको छ । त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत खसेको नखसेको गाउँपालिकाले जनाएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्था अनुसार साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेश भएको थियो । टेम्मा विभाजनका लागि गाउँसभाले प्रदेशमा सिफारिसका लागि अनुमोदन गरेको छ । विभाजनका पक्षमा बहुमत खसेको मतका आधारमा अव टेम्मालाई औपचारिकरुपमा विभाजनका लागि बाटो खुलेको छ ।

    यस्तै, बतासेलाई विभाजन गर्नुपर्ने पक्षमा १५ र विपक्षमा १९ मत खसेको छ । तटस्थमा भने मत खसेन । बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको थियो । बहुमत नपुगेकाले वतासेलाई विभाजन गर्ने प्रस्ताव गाउँसभाबाट अस्वीकृत भएको छ ।

    टेम्मा विभाजन भएसँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ८ वटा वडा हुने छ । वडाको संख्या वा सीमामा हेरफेर गर्न आवश्यक भएमा गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने व्यवस्था छ । प्राप्त प्रस्तावलाई नेपाल सरकारले ६ महिनाभित्र प्रस्ताव बमोजिम वडाको संख्या वा सीमाना हेरफेर गर्ने व्यवस्था छ ।

    प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - ०६:५२:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको