बिहिवार, कार्तिक १३ गते २०८३

साप्सु खोलाको मोटरेबल पुल सञ्चालनमा 

साप्सु खोलाको मोटरेबल पुल सञ्चालनमा 

रोदिक खबर

१९, श्रावण २०७८
  • 5.2K
    SHARES
  • साप्सु खोलाको मोटरेबल पुल सञ्चालनमा 

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधिन मोटरेबल पुल सञ्चालनमा आएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल  सञ्चालनमा आएको हो ।

    गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले प्रयोग गर्दै आएको गाडी सोमबार तारेर पुल सञ्चालनमा ल्याइएको गाउँपालिकाका असिस्टेन्ट सव–इन्जिनियर सरगम राईले बताए ।

    निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले ४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुलको बिम तथा स्ल्याव ढलानको काम बैशाख १८ गते सम्पन्न गरेको थियो । सम्झौता अनुसारको काम सम्पन्न गर्न बाँकी रहेपनि वर्षा याममा पुलबाट आवत–जावत गर्न समस्या नहुने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । पुलको ग्याबिन वाल, एप्रोच स्ल्याव, वेयरिङकोट र पेन्टिङको काम बाँ रहेको जनाइएको छ । 

    ‘वर्षा याममा हुने प्राकृतिक नाकाबन्दी तोड्ने काम गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अव वर्षा याममा पुलकै अभावमा हुने आवत–जावतमा अवरोध हुने छैन ।’ संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको थियो ।

    सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । मुल्या अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो । पुल निर्माणमा गाउँपालिकाको ४५ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका बेला पनि पुल निर्माणको कामलाई निरन्तरता दिएको सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए ।

    sapsu1.jpg

    दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो ।

    प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो ।
    सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो ।
    साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ ।

    प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - १८:४८:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको