खोटाङ । चार दिनअघि वेपत्ता बनेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ढुंगेका ३५ वर्षीय दविन्द्र राई मृत भेटिएका छन् । गत साउन ३० गतेदेखि सम्पर्क विहिन बनेका राई बुधबार दोर्पाचिउरीडाँडाकै चम्पापुछारस्थित साप्सु खोला किनारमा मृत फेला परेका हुन् । खोजी गर्नेक्रममा उनको शव खोला किनारमा भेटिएको दोर्पाचिउरीडाँडाका वडाध्यक्ष महन्त राईले बताए ।
विगत ३÷४ बर्ष देखि मानसिक सन्तुलन गुमाएका राईको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । उनको शव छिमेकी नलेज राईले भेट्टाएका थिए । धामीझाँक्रीको काम गर्ने राईले जाँडरक्सी खाएको बेला मानसिक सन्तुलन गुमाउने गरेको वडाध्यक्ष राईले बताए ।
घट्नाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पठाइएको छ । घट्नाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सागर साहले बताए ।
नाजुक आर्थिक अवस्था भएका राईको शवको पोष्टमार्टम गर्न समेत समस्या भएको आफन्तले बताएका छन् । हालसम्म अविवाहित रहेका दविन्द्रको बुवा अपांग छन् भने आमाको दुई महिनाअघि मृत्यु भएको स्थानीय कोमल ढकालले बताए ।