दिनराज कार्की
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको सिलको प्रभाव दिक्तेलबजारमा परेको छ । दिनानुदिन कोभिड–१९ को संक्रमण बढेपछि मंगलबारदेखि १० दिनका लागि गरिएको नगर सिलका कारण दिक्तेलबजारको चहलपहल ठप्प भएको छ । सिल आव्हान गरिएको दोश्रो दिन दिक्तेलबजारका होटल, पसल, यातायात सेवा ठप्प देखिएका छन् । यद्यपि, बजारमा बाइक र ट्याक्टर भने फाट्टफुट्ट चलिरहेका छन् ।
संक्रमण फैलिन नदिनका लागि नगरपालिकाभित्रका सरकारी कार्यालयको अत्यावश्यक बाहेकका सेवा पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा पौडेलले बताए ।
सिल आव्हान गरिएकै कारण दिक्तेलबाट काठमाण्डौ तथा पूर्वी तराई जाने यातायातका सवारी साधन बन्द गरिएको खोटाङ यायात प्रालिका महासचिव रामकुमार हिमाङले बताए ।
सिल गरिएपनि बजार क्षेत्रमा पैदल आवत–जावत गर्ने क्रम भने चलिरहेको देखिएको छ । बजारमा सुरक्षाकर्मी परिचालन गरिएका कारण कतिपय स्थानीय बजार क्षेत्रको सट्टा चोर बाटोबाट ओहोर–दोहोर गर्न थालेका छन् । तर, गाउँमा भने सिलको प्रभाव देखिएको छैन । सिललाई प्रभावकारी बनाउन ट्याक्टर र मान्छेको आवत–जावत नै रोक्नु पर्ने स्थानीय आदित्य कार्कीले बताए ।
सिल गरिएको अवधिमा हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन ठप्प बनाइएको नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय दिक्तेलबजारमा संक्रमण दर अधिक देखिएको छ । दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको हो ।