खोटाङ । करेन्ट लाग्दा खोटाङको खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी ओसारेर खसाउने क्रममा बिहिबार साँझ करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १९ वर्षीय पुष्प परियारको मृत्यु भएको हो ।
डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पुर्याएपछि पानी खसाल्नका लागि ट्यांकीमा चढेर पाईप जोडेर उभिँदा सिधा माथि झुण्डिएको विद्युतको तार छुन पुग्दा चालक परियारलाई करेन्ट लागेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।
करेन्ट लागेर गम्भीर बनेका परियारलाई उपचारका लागि स्वास्थ्यचौकी दुर्छिममा पुर्याए लगत्तै मृत्यु भएको बताइएको छ । ‘क्रसरमा पु¥याएको पानी खन्याउनका लागि ट्याक्टरको ट्यांकीमा चढेर पाईप जोडेर उभिन खोज्दा हाइटेन्सन लाईन छुन पुगेछन्,’ वडाध्यक्ष राउतले भने, ‘करेन्ट लागेर गम्भीर बनेका पुष्पलाई दुर्छिम स्वास्थ्यचौकी पुर्याए लगत्तै मृत घोषणा गरिएको जानकारी आएको छ ।’